Bisal Chautari Logo

दक्षिण कोरियाले नेपालको प्राविधिक शिक्षामा सहयोग गर्ने

- २६ मंसिर २०७७, शुक्रबार ०४:५९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर २६ शुक्रवार । 
दक्षिण कोरियाले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको शिष्टाचार भेटमा नेपालका लागि कोरियाका राजदूत पार्क योङसिक यस्तो प्रतिबद्धता गरेका हुन् । उनले कोरियाको निजी क्षेत्रबाट थप लगानी बढाउन समन्वय गर्ने पनि बताए ।

साथै, ईपीएसमार्फत् रोजगारीका लागि कोरियामा कार्यरत नेपाली जनशक्ति तथा त्यहाँबाट फर्केर आएकाहरुलाई उद्यमशीलता प्रदान गरी व्यावसायिक बनाउने कार्यक्रम रहेको पनि उनले जानकारी गराए । भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भएको छ । अर्थमन्त्री पौडेलले कोरियाली अन्तराष्ट्रिय सहयोग नियोग (कोईका) मार्फत कोरियाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे ।

नेपाल र कोरियाबीच व्यापार, लगानी र रोजगारीको क्षेत्रमा समेत आपसी सहकार्य बढदै गएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले ‘ईपीएस’ (इम्लाएमेन्ट प्रमिट सिस्टम) मार्फत् नेपाली रोजगारीका लागि कोरियामा जाने र त्यहाँ सिकेको सीप नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको बताए । उनले कोभिड–१९ विरुद्ध नेपालले गरेको प्रयासमा कोरिया सरकारको सहयोग र सहकार्यका लागि धन्यवाद दिएका छन् ।

अर्थमन्त्री पौडेलले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रुपमा कोरियन जनताको उपस्थिति बढाउन थप सहयोगको लागि आग्रह गरे । उनले कोरिया सरकारको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरुका लागि मन्त्रालयको सहयोग साथ र समर्थन रहने बताए । राजदूत योङसिकले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा कोरियन सरकारको सक्रिय योगदान हुने बताए छन् ।

प्रतिक्रिया