Bisal Chautari Logo

देशभर ३८५ काेराेना संक्रमित क्रिटिकल अवस्थामा

- २४ मंसिर २०७७, बुधबार ०५:५८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७  मंसिर २४ बुधवार ।
देशभर क्रिटिकल अवस्थामा रहेका तीन सय ८५ जना कोरोना भाइरस संक्रमितकाे भेन्टिलेटर र आईसीयूमा राखेर उपचार भइरहेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्रिटिकल अवस्थामा रहेका तीन सय ८५ जना संक्रमितलाई भेन्टिलेटर र आईसीयूमा राखेर उपचार भइरहेको छ। बुधबार बिहानसम्म देशभरका अस्पतालमा ५३ भेन्टिलेटरमा रहेका छन्।

त्यस्तै, तीन सय ३२ जना आईसीयूमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण उनीहरुको अवस्था पनि गम्भीर रहेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, सबैभन्दा बढी बागमती प्रदेशमा भेन्टिलेटर र आईसीयूमा रहेका छन्। बागमतीमा एक सय १३ जना आइसियु र ३० जना भेन्टिलेटर छन्।

त्यस्तै, लुम्बिनी प्रदेशमा ६७ जना आईसीयू र तीन जना भेन्टिलेटरमा छन भने प्रदेश १ मा २९ जना आईसीयू र ६ जना भेन्टिलेटरमा छन्।  प्रदेश २ मा नौ आईसीयू र तीन जना भेन्टिलेटरमा, सुदूरपश्चिममा सात आईसीयू र दुई जना भेन्टिलेटरमा छन्।

यसैगरि, गण्डकी प्रदेशमा ९८ आईसीयू र नौ जना भेन्टिलेटरमा छन् भने कर्णाली प्रदेशमा नौं आसीयूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले कोरोना संक्रमणबाट एक हजार ६ सय १३ जनाको मृत्यु भएको छ। बुधबारसम्म संक्रमितको संख्या दुई लाख ४३ हजार तीन सय ७७ पुगेको छ। जसमध्ये दुई लाख २९ हजार ५४ जना निको भएका छन्।

प्रतिक्रिया