Bisal Chautari Logo

अस्पताल लैजाँदै गर्दा मोटरसाइकलबाट खसेर वृद्धाको मृत्यु

- १६ मंसिर २०७७, मंगलवार ०५:१९ मा प्रकाशित


विशाल चौतारी समाचार
विराटनगर, २०७७ मंसिर १६ मंगलवार ।
 आफ्नै छोराले उपचारका लागि अस्पताल लैजाँदै गरेको अवस्थामा मोटरसाइकलबाट खसेर विराटनगरमा सोमबार साँझ एक वृद्धा महिलाको ज्यान गएको छ।

 

विराटनगर महानगरपालिका–१५ रामजानकी चोककी ६० वर्षीया मनकामना झाको मृत्यु भएको हो।

मोटरसाइकलबाट खसेकी वृद्धाको उपचारका क्रममा न्युरो अस्पतालमा साँझ ५ बजेतिर ज्यान गएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए। उनका अनुसार अचानक आमा बिरामी परेपछि २२ वर्षीय छोरा राजन झाले को १२ प ३५६ नम्बरको मोटरसाइकलमा राखेर उपचारका लागि न्युरो अस्पताल लग्दै गरेको अवस्थामा घटना भएको हो।

अस्पताल लैजाने क्रममा व्यथाले झन च्यापेर थामिन नसकेकी वृद्धा विराटनगर–९ बुद्ध चोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ। तत्काल छोराले उपचारका लागि न्युरो अस्पताल पु¥याए पनि वृद्धा जीवित रहन नसकेको प्रहरीको भनाइ छ।

यता उपचार गराउन आमालाई अस्पताल लिएर गएका छोरालाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। ‘आमा बिरामी परेपछि उपचार गरेर बचाउनका लागि छोराले अस्पताल लिएर जाँदै रहेछन्,’ प्रहरी निरीक्षक पोदारले भने, ‘मोटरसाइकलबाट खसेर मृत्यु भएपछि आमा जीवित् रहिनन् भने छोरा उल्टै अनुसन्धानका तानिएका छन्।’

प्रहरीले मोटरसाइकल र चालकसमेत रहेका छोरा राजनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको हो।

प्रतिक्रिया