Bisal Chautari Logo

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय खुला

- १५ मंसिर २०७७, सोमबार ०५:३५ मा प्रकाशित


विशाल चौतारी समाचार
पोखरा , २०७७ मंसिर १५ सोमवार ।
कोरोना भाइरसका कारण विगत ८ महिनादेखि बन्द भएको पोखराको पर्यटकीय गन्तव्य अन्तर्राष्ट्रिय क्षेत्रीय म्युजियम खुला गरिएसंँगै पर्यटक आगमन सुरु भएको छ ।

मंगलबारदेखि खुला गरिएको उक्त म्युजियममा पर्यटक आगमन सुरु भएको संग्रहालयका निर्देशक शंकर गौतमले बताए । उनका अनुसार ८ महिना बन्द भएर खुलेको पहिलो दिनमै मंगलबार ४० जना, दोस्रो दिनमा ६५ जना पर्यटक म्युजियम आएको र बिहीबार पनि बिहानदेखि आन्तरिक पर्यटक आउन थालेका छन् । कोरोनाका कारण पर्यटक आगमन नभएसँंगै पर्यटक शुल्कबाट संकलन हुने रकमसमेत ८ महिना प्रभावित भएकाले जुन अवस्थामा पनि आफूहरू भौतिक संरचनामा जुटेको निर्देशक गौतमले बताए । उनले भने, “कोरोनाले गर्दा हामीले हाम्रा २० जना कर्मचारीलाई पनि कटौती गरेनौं, म्युजियमभित्र सरसफाइदेखि आन्तरिक काममा कर्मचारीलाई लगाएका थियौं, बोटानिकल गार्डेनसहितको करिब एक करोडको लागतमा भौतिक संरचना निर्माणकार्यमा लागेका छौं ।”

गत वर्ष करिब साढे दुई लाख आन्तरिक तथा बाह्य पर्यटक म्युजियम अवलोकन गर्न पुग्दा करिब ३ करोड रुपैयाँ प्रवेश शुल्कबाट मात्र संकलन भएको निर्देशक गौतमले बताए । उक्त म्युजियममा हाल समूहमा भएको अवस्थामा २५ जनाका लागि मात्र पहिलो पटक प्रवेश गराउने तत्पश्चात अर्को २५ जनाको समूहलाई अवलोकन गराउने व्यवस्था मिलाएको उनले जनाए । उनले भने, “कोरोनाबाट बच्न र बचाउनका लागि हामीले जनस्वास्थ्यका लागि आवश्यक स्वास्थ्य मापदण्डका कुरालाई समेत पालना गरेका छौं ।” हाल विद्यालय र शैक्षिक संघसंस्था खुला नभएकाले ठूलो समूहमा पर्यटक नआउने हुँदा तत्काललाई खासै समस्या नहुने निर्देशक गौतमको भनाइ छ ।

उक्त म्युजियम प्रवेश गर्नका लागि तेस्रो मुलुकका पर्यटकलाई जनही ५ सय, सार्क मुलुकका पर्यटकलाई २ सय ५०, नेपाली पर्यटकलाई एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको उनले बताए । यदि गार्डेन मात्र अवलोकन गर्न चाहेमा जनही ३० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । आफूहरूले ज्येष्ठ नागरिकलाई निःशुल्क रूपमा म्युजियम प्रवेश गराउने गरेको उनले बताए । आफू पूर्वजिल्ला शिक्षा अधिकारी भएको नाताले पनि धेरै जिल्लाका विद्यालयलाई विद्यार्थीहरू म्युजियममा ल्याउन आग्रह गर्दा उनीहरू आउँदा गत वर्ष अघिल्ला वर्षको तुलनामा ६० लाख बढी प्रवेश शुल्कबाट उक्त रकम संकलन भएको गौतमले दाबी गरे ।

प्रतिक्रिया