Bisal Chautari Logo

बालिका हत्या प्रकरण : प्रहरीको गोली लागेका संजयको मृत्यु

- १२ मंसिर २०७७, शुक्रबार ०७:१६ मा प्रकाशित


बर्दिबास : प्रहरीको गोली लागेर घाइते भएका महोत्तरीको बर्दिबासका  बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ। संजय उपनामले चिनिने उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको मृतकका भतिज सौगात न्यौपाने जानकारी दिए।

 

तर प्रहरीले भने उनको मृत्युलाई पुष्टि गरेको छैन। इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चपागाईंले उनको मृत्युको कुरा पुष्टि हुन बाँकी रहेको बताए। महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अन्नपूर्णसँग भने, ‘उनको मृत्युको मैले पनि सुनेको छु। थप खुल्न बाँकी छ।’

६ वर्षीया बालिका गुलाब साह खातुनको निर्मम हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै भएको आन्दोलनमा भीड नियन्त्रण गर्न मंगलबार प्रहरीले गोली चलाएको थियो। तीघ्रामा गोली लागेका न्यौपाने सख्त घाइते भएका थिए।

उनको बर्दिबासस्थित पिनाकल हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो। उपचारका क्रममा राति १ बजे उनको मृत्यु भएको भतिज सौगातले जानकारी दिएका हुन्। ‘रगत धेरै बगेपछि श्वासप्रश्वासमा समस्या भयो। ५ प्रिन्ट रगत चढाए पनि अवस्था सुधार भएन,’ उनले भने, ‘काकाको मृत्यु भएको अस्पतालले डेथसटिफिकेट दिएको छ।’

अत्यधिक रक्तश्राव भएर उनको मृत्यु भएको हो। गोली लागेर घाइते भएका अर्का श्याम कार्कीको काठमाडौंमै उपचार भइरहेको छ। प्रदर्शनमा टाउको फुटेका अफताम आलमको बर्दिबासमा उपचार हुँदैछ।

आइतबार साँझ गाउँबाटै बेपत्ता भएकी महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीकी गुलाबको शव सोमबार मध्यरातमा उनको घरनजिकैको झाडीमा बोरोमा राखेर फालिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी चापागाईंले जनाए।

घटनालाई लिएर मंगलबार दिनभर बर्दिबासमा स्थानीयले प्रदर्शन गरे। राजमार्गमा शव प्रदर्शन गर्ने क्रममा बर्दिबासस्थित भोला बसन्त चोकमा रहेको प्रहरी बिटमा आन्दोलनकारीले ढुङ्गामुढा र आगजनी गरेपछि प्रहरीले भीड तितरवितर गर्न हवाईफाएर गरिएको प्रशासनले जनाएको छ।

‘सोही गोली प्रदर्शनकारीलाई उछिटिएर लाग्यो’, महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने, ‘घटनालाई लिएर मंगलबार दिनभरी बर्दिबास तनावग्रस्त रह्यो। आन्दोलनकारीले ६ घण्टा राजमार्ग  ठप्प गराए।’

बालिकाको हत्या आरोपमा गौशाला-५ का २५ वर्षीय अरुणकुमार साह पक्राउ गरिएको डीएसपी चपागाईंले बताए। ‘मैले नै बालिकाको हत्या गरेको हुँ, भनेर अरोपीले स्वीकार गरिसकेका छन्,’ उनले भने।

आक्रोसित स्थानीय सामाजिक बहिष्कारको नारा लगाउँदै आरोपीको तीन तल्ले घरमा समेत आगो लगाएका थिए। घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय घरमा लगाएको आगो निभाउन आएको दुई दमकलमा समेत तोडफोड गरे।

प्रहरीले आरोपी साहलाई गौशालाबाट सोमबार साँझ नियन्त्रणमा लिएको थियो। पूर्व—पश्चिम राजमार्गस्थित बर्दिबास भोलाबसन्त चोकमा आरोपी साहले घर बनाई अरुण किराना पसल संचालन गर्दै आएका छन्। आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला उनले बालिकालाई अपहरण गरेर घरमा लुकाएका थिए।

सोमबार साँझ मदिरा खाएर गौशालास्थित घर पुगेका आरोपीले आफ्ना घरपरिवारलाई बालिकाको हत्या गरेको बताएका थिए। त्यसपछि उनका परिवारजनले इलाका प्रहरी कार्यालय गौशालाको जिम्मा लगाएको त्यहाँका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जनाए।

गौशाला प्रहरीले बर्दिबास प्रहरीलाई आरोपी प्रहरी नियन्त्रणमा रहेको खबर गरेका थिए। सोमबार राति १२ बजे बर्दिबासका डीएसपी चापागाईंले ती युवकलाई लिएर शव लुकाएको स्थानमा पुग्न सफल भएका थिए।

प्रतिक्रिया