Bisal Chautari Logo

परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतीय विदेश सचिवको भेटवार्ता थप सामग्री

- ११ मंसिर २०७७, बिहीबार १०:२० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर ११ बिहिवार ।
दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच सिंहदरबारमा भेटवार्ता शुरू भएको छ।

नेपालका परराष्ट्रसचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधिमण्डलसँग होटल याक एण्ड यतीमा द्विपक्षीय बैठक सकेर विदेशसचिव श्रृंगला मन्त्री ज्ञवालीसँगको भेटवार्ताका लागि सिंहदरबार पुगेका हुन्।

सचिवस्तरीय वार्ता सकिएपछि विदेश सचिव श्रृंगलाले दुई देशको आपसी हितका विषयमा छलफल भएको संचारकर्मीसमक्ष बताएका थिए। काठमाडौंमा एक वर्षपछि नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय बैठक भएको छ।

सचिव पौडेलको निमन्त्रणामा दुई दिने भ्रमणमा आएका श्रृंगलालाई त्रिभुवन विमानस्थलमा सचिव पौडेलले स्वागत गरेका थिए। विमानस्थलमा आफ्नो दुई दिने नेपाल भ्रमणको तालिकाबारे जानकारी दिएका श्रृंगलाले भोलि गोरखा र मनाङको समेत भ्रमण गर्ने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत श्रृंगलाले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। नेपाल र भारतबीच पछिल्लो समय तिक्ततापूर्ण रहेको सम्बन्ध सुधारका लागि उच्च प्रशासनिक तहमा भएको भ्रमणले सकारात्मक वातावरण बनाउने अपेक्षा गरिएको छ।

आगामी आइतबार अर्को छिमेकी राष्ट्र चीनका रक्षामन्त्री पनि नेपाल भ्रमणमा आउने तय भएको छ।

प्रतिक्रिया