Bisal Chautari Logo

मोरङका ६ स्थानीय तहद्वारा विद्यालय खोल्ने निर्णय

- १० मंसिर २०७७, बुधबार ०८:०१ मा प्रकाशित


विशाल चौतारी समाचार
महोत्तरी , २०७७ मंसिर १० बुधवार ।
मोरङमा विद्यालय खोल्ने तयारी थालिएको छ । दक्षिणपूर्वी मोरङका ६ स्थानीय तहले विद्यालयको पठनपाठन सुरु गर्ने निर्णय गरेका छन् ।

मंसिर १५ गतेबाट विद्यालय सञ्‍चालन गर्ने विषयमा ६ वटै पालिकाका प्रमुख तथा सरोकारवालाले अब विद्यालय बन्द गरिरहन नसक्ने निष्कर्ष निकालेका हुन् ।

रङ्गेली नगरपालिका, रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका विद्यालय खुल्ने विषयमा छलफल भई निर्णय भएको हो । रंगेली नगरपालिकाका प्रमुख (मेयर) दिलीप अग्रवालका अनुसार सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई कडाइसाथ लागु गर्दै विद्यालय खोल्ने निर्णय भएको छ ।

सबै विद्यालयले विद्यार्थी-शिक्षकहरुलाई अनिवार्य साबुनपानीले हात धुने व्यवस्था गर्ने, विद्यालयले प्रत्येक विद्यार्थीको थर्मल गन प्रयोग गरी अनिवार्य तापक्रम नाप्ने विद्यालयले हरेक साता कक्षाकोठा डिसइन्फेक्ट गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयलाई दिवा सत्रमा र कक्षा ६ देखि १२ सम्म सञ्चालित विद्यालयहरुलाई बिहानी सत्रमा सामाजिक दूरी कायम गरी सञ्चालन गर्ने निर्णय भएको रंगेलीमा मेयर अग्रवालले बताए । कोरोनाको लक्षण देखिए शिक्षक, विद्यार्थी र कर्मचारीलाई १४ दिन अनिवार्य बिदामा बस्न लगाउने र पीसीआरपछि मात्रै विद्यालय आउन पाउने नियम लगाएको बताइएको छ ।

प्रतिक्रिया