Bisal Chautari Logo

जनस्वास्थ्य अधिकृत देवको मृत्यु

- ७ मंसिर २०७७, आईतवार ०५:२९ मा प्रकाशित


विशाल चौतारी समाचार
राजविराज, २०७७ मंसिर ७ आइतवार ।
सप्तरीको राजविराज नगरपालिका–२ का एक जना पुरुषको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको छ। नेपाल स्वास्थ्यकर्मी युनियनका सहसचिव ५२ वर्षीय जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार राती नोबेल अस्पताल बिराटनगरमा कोभिड–१९ ले मृत्यु भएको नेपाल स्वास्थ्यकर्मी युनियनले जनाएको छ। सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखामा शाखा प्रमुखका रुपमा कार्यरत स्वास्थ्यकर्मी देव कोभिड संक्रमणको उपचार गराईरहेका थिए।

 

विराटनगरमा उपचाररत देवको १० दिन अघि कोरोना रिपोर्ट नेगेटिभ आएको परिवारका सदस्यले बताएका छन्। रिपोर्ट नेगेटिभ आएपनि कोरोनाकै कम्प्लिकेशनले गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका बरिष्ट मलेरिया इन्स्पेक्टर नारायण राउतले बताए। राउतका अनुसार कोरोनाले फोक्सो र किडनीमा असर गरी कमजोर बनाएको तथा सो महत्वपूर्ण अंगले राम्रोसँग काम गर्न नपाएकाले देवको रिपोर्ट नेगेटिभ आएपनि सोही जटिलताका कारण देवको मृत्यु भएको हो।

रिपोर्ट नेगेटिभ आएपछि आइसियुमा सारिएका देवको स्वास्थ्य अवस्थामा जटिलता आएपछि पुनः भेण्टिलेटरमा उपचार गराउँदा गराउँदै मृत्यु भएको हो। यो सँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सप्तरीमा ३६ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीका राउतले जनाए।

रिपोर्ट नेगटिभ आएकाले शव घरमा ल्याइएको छ। तर नेपाली सेनाले नै शव व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ। उनको शव आइतबार दिउँसो कोशी व्यारेजमा लगिने र शव व्यवस्थापन गरिने बताइएको छ।

विगत ३० वर्षदेखि स्वास्थ्य सेवामा अनवरत रुपमा कार्यरत मिलनसार, साहसिलो र स्वास्थ्य क्षेत्रको असल व्यक्तित्व गुमाउनु परेको उनीसँगै पढने साथी दिनेश सिंहले बताए। वाककला, लेखन कला लगायत दैनिक प्राबिधिक तथा प्रशासनिक क्षेत्रमा कार्य कौशलता राख्ने देवको निधनले समग्र स्वास्थ्य सेवालाई अपूरणनीय क्षति पुगेको सहकर्मीहरुले बताए।

प्रतिक्रिया