Bisal Chautari Logo

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

- ४ मंसिर २०७७, बिहीबार ०९:३१ मा प्रकाशित


विशाल चौतारी समाचार
धनुषा , २०७७  मंसिर ४ बिहिवार । धनुषामा कोरोना संक्रमणबाट एकजना वडाध्यक्षको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।

७० वर्षीय मोक्तान आइसोलेसनमा भर्ना भएको चौथो दिन मृत्यु भएको धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले जानकारी दिए । गत सोमबार ज्वरो आएपछि पुष्पवलपुरस्थित स्वास्थ्य क्लिनिकमा उपचार गराएका थिए । शारीरिक अवस्था कमजोर हुँदै गएपछि मंगलबार प्रादेशिक अस्पतालमा भर्ना भए । त्यहाँ स्वाब संकलन गरी जाँच गर्दा कोरोना संक्रमित देखिएको र शरीरमा अक्सिजन कम हुँदै गएपछि आइसोलेसनमा राखेर उपचारका क्रममा बिहीबार मृत्यु भएको नगर प्रमुख मण्डलले जनाए ।

“अचानक स्वास्थ्य अवस्था कमजोर भएको सुनेपछि मंगलबार म आफैं अस्पताल पुगेर भेट्न खोजें । डाक्टरले कोरोना लागेको भन्दै उनीसँग भेट्न दिएन,” मण्डलले बाह्रखरीसँग भने, “आज (बिहीबार) उपचारकै क्रममा मृत्यु भएको सुन्दा मर्माहित भएको छु ।” पूर्वएमालेबाट वडा अध्यक्षमा निर्वाचित मोक्तानको मृत्युपछि नेपाली सेनाको टोलीले स्वास्थ्य सुरक्षाको विधि पालना गरी अन्त्येष्टि गर्ने जनाएको छ ।

प्रतिक्रिया