Bisal Chautari Logo

पोखरामा थप तीन कोभिड-१९ संक्रमितको मृत्यु

- ४ मंसिर २०७७, बिहीबार ०९:२४ मा प्रकाशित


विशाल चौतारी समाचार
पोखरा , २०७७  मंसिर ४ बिहिवार । पोखरामा थप तीन जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना कास्कीको पोखरा महानगरपालिकाका हुन् भने एक जना लमजुङ बेसीशहर नगरपालिकाका रहेको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।

मृत्यु हुनेमा कास्की जिल्ला, पोखरा महानगरपालिका १७ की ७५ वर्षीया महिला छिन्। उनको बिहीवार बिहान ३:४५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको शर्माले जानकारी दिए। कार्तिक २४ गते कोभिड-१९ को संक्रमण पुष्टि भएकी उनमा निमोनियासँगै हाइपरटेन्सन र मधुमेह पनि थियो।

त्यस्तै, पोखरा ९ की ८३ वर्षीया कोरोना संक्रमित महिलाको पनि बिहीवार बिहान ७:३० बजे फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा मृत्यु भएको छ। उनमा कार्तिक २५ गते संक्रमण पुष्टि भएको थियो।

कोभिड-१९ को संक्रमणसँगै बाइलेटरल निमोनिया, हाइपरटेन्सन र रेस्पिरेटरी फेलियरका कारण उनको मृत्यु भएको हो।

त्यस्तै बुधवार साँझ पोखरामै लमजुङ जिल्लाको बेसीशहर नगरपालिका ५ का ७१ वर्षीय पुरूषको पनि मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा उनको मृत्यु भएको शर्माले जानकारी दिए। कार्तिक २८ गते संक्रमण पुष्टि भएका उनमा निमोनियासँगै एक्युट हेपाटाटिस पनि पुष्टि भएको शर्माले जानकारी दिए।

यससँगै गण्डकी प्रदेशका १३० जना कोभिड-१९ संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय पोखराको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया