Bisal Chautari Logo

आइसोलेसनमा प्लाज्मा चढाएका कोरोना संक्रमित मृत भेटिए शौचालयमा

- ४ मंसिर २०७७, बिहीबार ०५:२३ मा प्रकाशित


विशाल चौतारी समाचार
रुपन्देही , २०७७  मंसिर ४ बिहिवार । रुपन्देहीको तिलोत्तमा ४ विष्णुपुराका मेघराज ज्ञवालीलाई गत कात्तिक २६ गते कोरोनाभाइरसको संक्रमण  पुष्टि भयो।

कोरोनाको संक्रमण देखिएको दुई दिनपछि ५८ वर्षीय ज्ञवाली रुपन्देहीकै पुरानो भैरहवाको भीम अस्पतालमा भर्ना भए।

उनलाई अस्पतालको आइसोलेसन वार्डमा राखियो। मुटु रोगको औषधी खाइरहेका ज्ञवालीलाई अक्सिजन बाहिरबाट दिइएको थियो।

पारिवारिक स्रोतका अनुसार उनलाई  २९ गते राति करिब १० बजेदेखि प्लाज्मा चढाइएका थियो। उनको अवस्था जटिल हुने ठानेर परिवारले काठमाडौं ल्याउने तयारी गरेको थियो। त्यसका लागि उनीहरूले हेलिकप्टरसमेत चार्टर्ड गरिसकेका थिए।

ज्ञवालीका साला अर्जुन पौडेलले बिहान ३ बजेसम्म परिवारसँग फेसबुक म्यासेन्जरमा कुरा गर्दै आफ्नो स्वास्थ्य ठिकै रहेको जानकारी गराएका थिए।

रातिदेखि अक्सिजन र प्लाज्मा चढाइएका उनी भने बिहान तीन बजेपछि भने बेडमा थिएनन्।

बिहान ७ बजेतिर अस्पतालले बिरामीको मृत्यु भएको जानकारी गराएको पौडेलले बताए।

‘भिनाजुले मसँग राति ३ बजेसम्म म्यासेन्जरमा कुरा गर्नुभएको थियो, म ठिकै छु भन्नुभयो तर अस्पतालले बिहान ७ बजे मृत्यु भएको जानकारी गराउँदा छांगाबाट खसेजस्तो भयौं,’ पौडेलले भने।

पौडेलका अनुसार म्यासेन्जरमा कुरा गरेपछि ज्ञवाली शौचालय गएका रहेछन्।

शौचालय गएका उनी फर्किन भने सकेनन्। अस्पतालका स्वास्थ्यकर्मीले उनी बेडमा नभएको कुरा पाँच बजेमात्रै थाहा पाए।

‘मलाई बिहान ५ बजे भिनाजु शौचालयमा भित्रबाट चुकुल लगाएको अवस्थामा हुनुहुन्छ निकाल्ने प्रयास हुँदैछ भनेर खबर आएको थियो, त्यसपछि पनि दुई घन्टा पछि बल्ल निकाल्यौं तर उहाँको मृत्यु भइसकेको छ भनेर अस्पतालले जानकारी गरायो, अस्पतालमा यतिसम्म पनि लापरबाही हुनुहुन्छ?,’ पौडेलले भने।

‘अस्पतालले रेखदेख गर्न सक्ने थिएन भने हामी आफैं कुरेर बस्ने थियौं,’ उनले भने।

अक्सिजन र प्लाज्माको सहारामा उपचार भइरहेको व्यक्तिलाई शौचालय एक्लै पठाउनु र शौचालयमा चुकुल लगाएर बस्न दिनु नै अस्पतालको लापरबाही भएको परिवारको भनाइ छ।

कोभिडको संक्रमणका कारण गम्भीर अवस्थामा उपचार भइरहेका बिरामी अस्पतालको बेडबाट लामो समयसम्म गायब हुँदासम्म स्वास्थ्यकर्मीले थाहा नपाएको भन्दै तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले पनि आपत्ति जनाएका थिए।

‘अस्पताल अस्पतालजस्तो भएन, गम्भीर अवस्थाको बिरामी यसरी २ घन्टासम्म बेडबाट हराउँदा थाहा नपाउनेजस्तो गम्भीर लापरबाही के हुन सक्छ?,’ घिमिरेले भने।

आइसोलेसन अस्पतालका चिकित्सक आरिफ हुसेन खानले भने ज्ञवालीको मृत्यु अस्पतालको नभई आफन्तको लापरबाहीले भएको बताए।

‘उनको मृत्यु अस्पतालको नभई प्यासेन्ट पाटीको लापरबाहीले भएको हो, हामीले बिरामीसँग एक जना कुरूवा बस्नुस् भनेका थियौं, उहाँहरू बस्नुभएन सबै बिरामीको पछि लागेर शौचालय लैजाने ल्याउने गर्न हामीसँग जनशक्ति हुँदैन,’ उनले सेतोपाटीसँग भने।

बिरामीका कुरूवा पनि सँगै बसे भने त कसरी आइसोलेसनको मापदण्ड पुरा हुन्छ  त? भन्ने प्रश्नमा डाक्टर खानले जनशक्ति अभाव भएकाले त्यस्तो गर्नु पर्ने तर्क गरे।

आइसोलेसनमा जनशक्ति अभाव भएका कारण गम्भीर अवस्थाका संक्रमितको रेखदेखको लागि एकजना कुरुवा संक्रमितसँग बस्न दिने गरेको उनले बताए।

‘आइसोलेसनमा २७ जना संक्रमित हुनुहुन्छ, एक सिफ्टमा जम्मा दुई जना नर्स, दुई जना मेडिकल अफिसर र एकजना कन्सल्टेन्टले राउण्डमा बिरामीहरुको रेखदेख गरिरहेका छौं, यस्तोमा कुरुवा बस्न नदिएर के गर्ने?’ उनले भने।

ज्ञवालीका आफन्तलाई एक जना बिरामीसँग बस्नुस् भन्दा पनि नबसेको उनले दाबी गरे।

मृतक ज्ञवालीका साला पौडेलले भने आफूहरूलाई भित्र जान नदिएर प्लाज्मा दिएर बाहिर बसेको बताए।

लुम्बिनी प्रदेश सरकारले भीम अस्पतालसँगै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, बेलझुण्डी दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकेको भेरी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने भन्दै आइसियूसहितको आइसोलेसन निर्माण गरेको थियो।

आइसियूसहितको आइसोलेसन अस्पताल निर्माणको लागि चार जना मन्त्रीलाई एक-एक वटा अस्पतालको जिम्मेवारीसमेत तोकिएको थियो। सोही अनुसार भीम अस्पतालको जिम्मेवारी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराललाई दिइएको थियो।

भीम अस्पतालमा सुरूदेखि नै आइसियू सञ्चालन विभिन्न अवरोधहरू आइलागेका थिए। प्रदेश सरकारले एउटा भेन्टिलेटरसहित पाँच बेडको आइसियू निर्माण गरे पनि दक्ष चिकित्सक र प्राविधिकको अभावमा आइसियू बनेको ५ महिनासम्म आइसियू सञ्चालन हुन सकेन।

महिनौंसम्म आइसियू सञ्चालन नहुँदा आइसोलेसनमा भर्ना भएका संक्रमितको उपचारमा समस्या हुने गरेका समाचार बाहिरिने गरेपछि एक महिनादेखि मात्रै आइसियू सञ्चालनमा आएको छ।

प्रदेशका सबै अस्पतालमा अस्पताल विकास समिति गठन हुँदा विभागीय मन्त्रीकै नेतृत्वमा रहेको भीम अस्पतालमा भने अझै पनि समिति गठन हुन सकेको छैन। जसको प्रत्यक्ष प्रभाव बिरामीहरूको उपचारमा पर्ने गरेको छ।

प्रतिक्रिया