Bisal Chautari Logo

कोरोनाविरुद्धको खोप-औषधि आयात तथा व्यवस्थापन सहज बनाउन अध्यादेश ल्याइँदै

- २७ कार्तिक २०७७, बिहीबार ०५:०१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , कार्तिक २७ बिहिवार ।
सरकारले कोरोनाविरुद्धको खोप, औषधि आयात तथा व्यवस्थापन कानुनी रुपमै सहज बनाउन अध्यादेश ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यादेशको मस्यौदा सोमबार मन्त्रिपरिषद्‌मा पठाइसकेको जनाएको छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोरोना भाइरसको खोप तथा औषधिको सहज व्यवस्थापन, खरिद तथा उपलब्ध गराउन बनाइएको अध्यादेश स्वीकृतिको प्रस्ताव सोमबार मन्त्रिपरिषद्‌मा पठाइएको जानकारी दिए । उनका अनुसार खोप पनि आकस्मिक रुपमा प्रयोगका लागि क्लनिक ट्रयालमा जानुपर्ने हुन्छ, त्यसरी क्लनिक ट्रयालमा जाँदा केही समय र प्रक्रियागत ढिलाइ हुनसक्छ । त्यही कुरालाई मध्यनजर गरेर आयात र व्यवस्थापनका लागि अध्यादेश ल्याउन लागिएको हो ।

उनले भने, “यो अध्यादेश पारित भएर आए आयात गरेका कोरोनाविरुद्धको खोपको नेपालमा क्लनिकल ट्रायल नगरी सीधै प्रयोग गर्न सकिन्छ ।” यसअघि रेम्डेसिभिर नामक एन्टिभाइरल औषधिको नेपालमा क्लनिकल ट्रायल गर्दा धेरै खर्च  र समयसमेत लागेको उनले तर्क गरे । उनले भने, “यो अध्यादेश आएपछि कोरोनाविरुद्धको खोप बन्नेबित्तिकै ल्याउन सजिलो हुन्छ भने क्लनिक ट्रायल गर्नुपर्ने झन्झट पनि हुँदैन ।”

अध्यादेश आएपछि आकस्मिक रूपमा प्रयोग गर्नुपर्ने औषधि तथा खोप दर्ता गरिरहनु पर्दैन तर औषधि व्यवस्था विभागमा सूचीकृत कम्पनी वा संस्था भए मात्र खोप तथा औषधि ल्याउन सकिने उल्लेख छ । अर्को, औषधि तथा खोपलगायत स्वास्थ्य सामग्री आयातका लागि स्वास्थ्य सेवा विभागबाट स्वीकृति भने अनिवार्य लिनुपर्नेसमेत बताइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पनि कोरोनाविरुद्धको खोप जीटुजी खरिद गर्न स्वास्थ्य, अर्थ र परराष्ट्र मन्त्रालयका सचिव रहेको तीन सदस्यीय समितिसमेत गठन गरिसकेको छ । उक्त समितिले कोरोनाविरुद्धका खोप कहाँ-कहाँ बनिरहेका छन् र कहिले, कुन प्रक्रियाबाट ल्याउने भन्नेबारे अध्ययन तथा तयारी भइरहेको जनाएको छ ।

सरकारले तत्काल केही गर्न आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गर्न सक्ने संवैधानिक व्यवस्था छ । यसैगरी,‘फाइजर र बायोएनटेक’कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोपको प्रारम्भिक परीक्षणमा यसलाई ९४ प्रतिशत सफल मानिएको छ ।

यता, रुसले विकास गरेको कोरोनाविरुद्धको खोपको ट्रायलबाट प्राप्त प्रारम्भिक नतिजाले ९२ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ । यीसहित १० खोप तेस्रो चरणमा पुगेका छन् । मन्त्रालयका अनुसार नेपालमा हालम्म कोरोना संक्रमितको संख्या दुई लाख दुई हजार ३२९ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया