Bisal Chautari Logo

मोरङमा एकै दिन नौ संक्रमितको मृत्यु

- २५ कार्तिक २०७७, मंगलवार ०५:३१ मा प्रकाशित


विराटनगर : मोरङमा एकै दिन कोरोना भाइरस संक्रमित नौ जनाको मृत्यु भएको छ। जिल्लामा पहिलो पटक एकै दिन यतिधेरै संक्रमितको मृत्यु भएको हो।

 

एक जनाको होम आइसोलेसन र अरु आठ जनाको विराटनगरस्थित विभिन्न कोभिड अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। मृत्यु भएकामध्ये सात पुरुष र दुई महिला छन्। तीमध्ये एक जना युवा र छ जना वृद्धवृद्धा छन्।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा मंगलबार बिहान मात्रै पाँच जना संक्रमितको मृत्यु भएको छ। कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई, न्युरो अस्पतालमा एक र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको छ।

तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको बिहान ८:२० तिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको थियो।

त्यस्तै झापा गौरादह–५ का ६५ वर्षीय वृद्ध पुरुषको पनि बिहान ८:२५ बजे नोबेलमै ज्यान गएको छ। पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि वृद्धलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको दाहालले बताए। उनका अनुसार झापाको झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको पनि बिहान ५:४५ बजेतिर मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो।

उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएको छ। कोरोना रिपोर्ट पोजिटिभ आएपछि कात्तिक २२ गते भर्ना गरिएका उनको बिहान ५:३० बजे मृत्यु भएको जानकारी दाहालले दिए।

मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको बिहान ६:३० बजेतिर नोबेलमै ज्यान गएएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको दाहालले बताए। वृद्ध पुरुषको उपचारका क्रममा ज्यान गएको उनले बताए।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६९ वर्षीया वृद्धा महिलाको मंगलबार बिहान ज्यान गएको छ। सुनसरीको इटहरी–५ की वृद्धाको बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए। उनका अनुसार कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

त्यस्तै विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि कोशी कोभिडमै ज्यान गएको छ। बस्नेतका अनुसार वृद्धको मृत्यु बिहान ७:३० बजेतिर भएको हो। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको सोमबार राति ९:५० बजेतिर मृत्यु भएको छ। निमोनियाको समस्या रहेका पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएको थियो। अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार उपचारका लागि अस्पताल ल्याएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो।

मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धा महिलाको आफ्नै घरमा ज्यान गएको छ। स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजिटिभ आएको थियो। कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान ७:३० बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी वृद्धाको आफ्नै घरमा ज्यान गएको प्रहरीले जनाएको छ।

मृतकहरुमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मृगौला र मुटु सम्बन्धी पुरानै समस्या रहेको अस्पतालहरुले जनाएका छन्।

प्रतिक्रिया