Bisal Chautari Logo

भारतीय सेना प्रमुख नरवणे हिमाल हेर्न माउन्टेन फ्लाइटमा

- २१ कार्तिक २०७७, शुक्रबार ०४:१७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, कार्तिक २१ शुक्रवार । तीन दिने नेपाल भ्रमणमा आएका भारतीय सेनाका प्रमुख  मनोज मुकुन्द नरवणे शुक्रबार बिहान माउन्टेन फ्लाइट गएका छन् ।

नेपालका हिमालको दृश्यावलोकनका लागि नरवणे शुक्रबार बिहान सोलुखुम्बु पुगेका हुन् । उनले माउन्टेन फ्लाइटबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको दृष्यावलोकन गर्नेछन् ।

भारतीय सेनापति नरवणे नेपाली सेनाको अगुष्टा हेलिकप्टर चढेर सोलुखुम्बु पुगेको सैनिक उच्च स्रोतले जानकारी दिएको छ । उनी हिमालको दृश्यावलोकन गरेपछि पुनः काठमाडौं फर्किने छन् ।

तीन दिने नेपाल भ्रमणमा आएका भारतीय सेनापति नरवणे दुई दिन भेटवार्ता र औपचारिक कार्यक्रममा व्यस्त भएपछि आज हिमाल हेर्न निस्किएका हुन् ।

बुधबार नेपाल आएका उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिएकी छन् ।

उनलाई नेपाली सेनाले बिहीबार रात्रिभोज दिएको छ । बुधबार नै पशुपति र बसन्तपुर दरबार क्षेत्र पुगेका नरवणे नेपाली सेनाको मुख्यालयमा भएका विभिन्न कार्यक्रममा सहभागी भइसकेका छन् ।

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी ओलीसँग शुक्रबार दिउँसो हुने भेटपछि सेनापति नरवणे आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया