Bisal Chautari Logo

ट्रम्प र बाइडेनमध्ये कुन राज्यमा को अगाडि ?

- २० कार्तिक २०७७, बिहीबार ०४:५१ मा प्रकाशित


बीबीसी अमेरिकामा राष्ट्रपति चुनावका अत्यन्तै महत्त्वपूर्ण मानिने राज्यहरुमध्येको एक जर्जियाका मुख्य निर्वाचन अधिकारी ब्रेड रेफेसपर्गरल झन्‍डै दुई लाख मत गणना हुन बाँकी रहेको बताएका छन् ।

मुख्य निर्वाचन अधिकारी रेफेसपर्गरले अमेरिकी समयअनुसार बुधबार राति अथवा बिहीबार बिहानसम्म मतगणना जारी रहने सम्भावना रहेको पनि बताएका छन् ।

उनले भने, “तत्काल गर्न जरुरी छ । तर, त्योभन्दा पनि जरुरी सही गर्नु छ ।” पारम्परिक रूपमा रिपब्लिकन राज्य जर्जियामा वहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प ३८ हजार नौ ९६ मतले अगाडि छन् । यसका साथै नर्थ क्यारोलिना, विस्कन्सिन, नेवाडा र पेन्सल्भेनियामा मतगणना जारी छ ।

नर्थ क्यारोलिनामा ट्रम्प ७६ हजार सात सय ३७ मतका साथ अगाडि छन् । त्यहाँका अधिकारीहरुले मतगणनाको अन्तिम परिणाम नाभेम्बर १३ भन्दा अगाडि नआउने बताएका छन् ।

विस्कन्सिनमा डेमोक्रेटिक उमेदवार जो बाइडेन २० हजार पाँच सय १० मतले अगाडि छन् । विस्कन्सिनमा ९९ प्रतिशत मतपेटिकाको गणना सम्पन्‍न भइसकेको छ ।

नेवाडामा ८६ प्रतिशत मतपेटिका गणना भइसक्दा बाइडेन सात हजार चार सय ६७ मतले अगाडि छन् ।

पेन्सल्भेनियामा ट्रम्प एक लाख ८७ हजार मतले अगाडि छन् । तर, लाखौं मतगणना गर्न बाँकी छ । जसमा अधिकांश डेमोक्रेटिक क्षेत्रका पोस्टल ब्यालेट (हुलाकमार्फत गरिएको मतदान) को मतपत्रहरु गणना गर्न बाँकी छन् ।

प्रतिक्रिया