Bisal Chautari Logo

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६८१ पुग्यो

- २९ आश्विन २०७७, बिहीबार ०६:०१ मा प्रकाशित


नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६८१ पुगेको छ । बुधबार साँझ र बिहीबार बिहान गरेर थप ६ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ६८१ पुगेको हो ।

बुधबार राति र बिहीबार बिहान सुनसरी र धरानमा गरेर ६ जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार र कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र, विराटनगरमा दुई जनाको मृत्यु भएको हो ।

धरानस्थित बीपी प्रतिष्ठाानमा इटहरी उपमहानगरकी–७५ वर्षीया महिला, तेह्रथुमका ३१ वर्षीय पुरुष, धरान–९ की ४४ वर्षीया र ५८ वर्षीया महिलाको कोरोनाले मृत्यु भएको हो।

त्यसैगरी कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–५ का ५० र र सुनसरी धरान–१५ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । बुधबार मात्र  कोरोनाले १२ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २४ घण्टामा उपत्यकामा १४ सय ३ सहित नेपालमा २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ।

८० हजार ९५४ जना डिस्चार्ज हुँदा ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सम्बन्धी अपडेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक दिउँसो ४ बजे गर्दै आएको छ ।

प्रतिक्रिया