Bisal Chautari Logo

‘काठमाडौँ उपत्यकामा कोरोना संक्रमण चौथो चरणमा’

- २९ आश्विन २०७७, बिहीबार ०५:३५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार । नेपालमा कोरोना संक्रमणको दर र लक्षण सहित संक्रमित हुनेको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारसँग कुनै तयारी र योजना नै नभएका कारण यो अवस्था आएको वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. बाबुराम मरासिनीको भनाइ छ । महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाको प्रमुखको रुपमासमेत काम गरिसकेका डा. मरासिनीले कोरोना नियन्त्रण बाहिर मुलुकमा जाँदा राजनीतिक अस्थिरता समेत निम्तिनसक्ने खतरा औंल्याएका छन् ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था चौथो चरणमा पुगेको टिप्पणी गरे । ‘हामी तेस्रो चरण पास गरेर चौथो चरणमा प्रवेश ग¥यौं जस्तो लाग्छ,’ उनले भने, ‘काठमाडौंको सन्दर्भमा चौथोमा प्रवेश गरेको जस्तो बुझिन्छ । किनभने यो धेरै ठूलो भइसक्यो । यहाँ कार्यालयभित्र, घरभित्र, समुदायमा सबैतिर पसिसक्यो ।’

सुरुवाती दिनमै कोरोना संक्रमणलाई स्रोतमै रोक्ने प्रयास गर्नुपर्नेमा सरकारले ध्यान नदिएको उनको भनाइ छ । स्वास्थ्य संकटले आर्थिक संकट र आर्थिक संकटले सामाजिक र राजनीतिक संकट निस्किने उनले बताए ।
उदाहरण दिँदै उनले भने, ‘इबोलाले सेएरालिओन र लाइबेरियामा के भयो त भन्दा सामाजिक र आर्थिक गिरावट भएका ठूलाठूला लेख प्रकाशित भएका छन् । त्यो पढ्ने हो भने दर्दनाक छ । मन्त्री भागेको छ त्यहाँ । बहालवाला मन्त्री डाक्टर र नर्सहरुको अवस्था देखेर आफुसमेत बस्न नसक्ने भएर भागे, सचिवहरु भागे, सुरक्षाकर्मीहरु भागे, देश यस्तो अवस्थामा पुग्यो कि बेहाल भयो । त्यस्तो संकट आइपर्छ ।’

 

पीसीआर परीक्षणका मापदण्ड, तौरतरिकामा पनि उनलाई चित्त बुझेको छैन । कोरोना संक्रमितको तथ्यांकमा उतारचढाव देखिएको उल्लेख गर्दै उनले भने, ‘आज ५ हजार आयो, भोलि २ हजार पनि कहीँ हुन्छ ? त्यो त सिधै नियन्त्रणतर्फ गयो भन्ने हो नि । ९ दिन १० दिनसम्म नमुनाहरु जम्मा गरेर राखेको छ, कहाँकहाँका नमुनाहरु पर्दा ५ हजार आयो, अर्कोदिन २ हजार २२ सय आउँछ । यो त २४ घण्टाको ताजाताजा तथ्याङ्कहरु भयो भने बल्ल तपाईले भन्न सक्नुहुन्छ कि यो बढ्दो क्रममा छ कि घट्दो क्रममा छ ।

सरकारले कोरोना संक्रमणविरुद्ध अहिलेसम्म अपनाएका रणनीति परिणमुखी नदेखिएको उनले बताए । ‘योजना नै रहेनछ स्वास्थ्य मन्त्रालयको, हेल्थ सेक्टर इमरजेन्सी रेस्पोन्स प्लानमात्रै बनाएको रहेछ । खास चाहिने हामीलाई के थियो भने हेल्थ सेक्टर प्रिपियरनेस प्लान चाहिन्थ्यो । उहाँहरुले भूकम्पको योजना बनाउनुभयो । चाहिने थियो हामीलाई सरुवारोग नियन्त्रणको योजना अथवा रोकथामको योजना ।’

जो जहाँ छ, त्यहीँ दसैँ मनाउनू भनेर स्वास्थ्य मन्त्रालयका प्रवक्ता सार्वजनिक रुपमा गरेको आग्रहलाई पनि उनले सान्दर्भिक नभएको टिप्पणी गरे । उनले भने, ‘अब यहाँ बसेको मान्छे धादिङमा नजा, नौबिसे नजा, काभ्रेको पाँचखाल नजा भनेर यहाँ बस्छ र ? उहाँहरुलाई भन्ने के हो भने तपाईहरु घरमा जानचाहिँ जानुहोस्, अलग्गै सुत्नुस् । एकप्रकारकै क्वारेन्टाइनकै व्यवस्था गरेर घरमै बस्नुस्, मास्क लगाएर खुला ठाउँमा, खुला हावामा बसेर टिका लगाउनुस्, धेरै मान्छे एकैपटक जम्मा नहुनुस्, थोरै मान्छे जम्मा हुनुस्, खानपिन अलि परपर बसेर दुई÷तीन मिटरको दुरी कायम गरेर मात्रै गर्नुस् ।’

 

प्रतिक्रिया