Bisal Chautari Logo

पशुपती क्षेत्रमा थप ३ वटा विद्युतीय शवदाह गृह बन्ने

- २९ आश्विन २०७७, बिहीबार ०५:२६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार । पशुपती क्षेत्रमा थप ३ वटा विद्युतीय शवदाह गृह बन्ने भएको छ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा तिलगंगामा ३ वटा मेशिनसहित शवदाह गृह बनाउन लागिएको हो। शवदाहगृह बनाउनको लागि बुधबार काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा सह–सचिव राजेश्वर ज्ञवाली र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष  २०७७/७८ मा शवदाह गृह निर्माणका लागि १५ करोड बजेट छुट्याएको थियो।

मेयर शाक्यले शवदाहको जति सक्दो छिटो शिलान्यास गरी ६ महिना भित्रमा संचालन गर्ने गरी काम थाल्न आग्रह समेत गरे।

शाक्यले अहिले सञ्चालनमा रहेका दुई वटा विद्युतीय शवदाह मेसिनले चाप धान्न नसकेको अवस्थामा महानगरपालिकाको सहयोगमा निर्माण हुने थप ३ वटा मेशिनले केही सहज हुने आशा गरेका छन्।

‘अहिले पनि अन्तिम संस्कार धेरैले परम्परागत ढंगबाटै गर्ने चलन छ। यस्तो बेलामा नदीमा प्रदुषण कम गर्ने, वातावरण फोहोर नबनाउने र अन्तिम संस्कारमा नियमित सहभागी हुनेहरुको स्वास्थ्यमा पनि प्रतिकुल असर नपुगोस् भन्ने हेतुले विद्युतीय शवदाह गृह निर्माणका लागि महानगरपालिकाले चासो राखेको हो,’ उनले भने।

अहिले सञ्चालनमा रहेका मेशिनबाट शवदाह गर्न १ देखि डेढ घण्टासम्म लाग्ने गरेकोमा अब निर्माण हुने मेशिनबाट ३० देखि ४५ मिनेटमा शवदाह हुने कोषका सदस्य सचिव ढकालले बताए।

‘अहिले दैनिक ३५ देखि ४५ वटासम्म शवदाह हुने गरेका छन्। सञ्चालनमा रहेका दुइ वटा मेशिनबाट जम्मा दैनिक १५–२० वटा शवदाह हुने गरेका छन्। अब थप मेशिन निर्माणपछि बढ्दो चापलाई धेरै हदसम्म व्यवस्थापन गर्न सकिन्छ,’ उनले भने।

प्रतिक्रिया