Bisal Chautari Logo

अस्पतालले भर्ना लिएन, कोरोना संक्रमितको मृत्यु

- २९ आश्विन २०७७, बिहीबार ०४:५१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार । बीपी प्रतिष्ठानको कोभिड–१९ अस्पतालले भर्ना नलिएका कोरोना संक्रमित धरानका एक पुरुषको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-९ का ५८ वर्षीय पुरुषको अस्पतालले भर्ना नगर्दा घरमै मृत्यु भएको हो।

 

कोरोना पोजिटिभ देखिएपश्चात प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका लागि बुधबार लगिए पनि संक्रमित पुरुषलाई भर्ना नलिए पश्चात घरमा फर्काउन बाध्य भएको धरान- ९ का वडाअध्यक्ष रत्न कट्वालले बताए। उनले प्रतिष्ठानका चिकित्सकको चरम लापरवाहि र गैह्र जिम्मेवारीपनका कारण एक जना वडावासीलाई गुमाउनु परेको बताए।

संक्रमितलाई बुधबार दिउँसोदेखि नै अस्पताल भर्ना गर्न अनुरोध गर्दा पनि प्रतिष्ठानका चिकित्सकहरुले भर्ना गर्न अस्विकार गरेको वडाअध्यक्ष कट्वालले बताए। संक्रमित पुरुषलाई अक्सिजन कम भएपछि कोभिड अस्पताल भर्ना गर्न कोभिड अस्पतालका फोकल पर्सन इन्द्र लिम्बुलाई पटक–पटक अनुरोध गर्दासमेत संक्रमित बिरामीलाई भर्ना नगरिएको वडाअध्यक्ष कट्वालको आरोप छ। मृतकलाई हप्तादिन अगाडि ज्वरो आएको भएपनि तीनदिन अगाडि मात्र कोरोना पोजिटिभ देखिएको थियो।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गएपछि प्रतिष्ठानले संक्रमित बिरामीहरुलाई बेड अभाव, भेण्टिलेटर र अक्सिजन अभावका काराण बिरामी भर्ना लिन छाडेको छ। कोभिड अस्पतालमा संघिण् सरकार र प्रदेश सरकारले करौडौं रकम आर्थिक सहयोग गरेको भएपनि सहि ढंगले संचालन हुन सकेको छैन।

प्रतिष्ठानको कोभिड अस्पतालमा खरिद गरिएका नयाँ भेण्टिलेटर दुई महिनामै बिग्रिएका छन्। अक्सिजन बेडकोसमेत व्यवस्थापन नहुँदा बिरामीले सहज रुपमा उपचार पाउन नसकेको गुनासो गरेका छन्। प्रतिष्ठानका प्रवक्ता डा. आषिश श्रेष्ठले संक्रमित पुरुषलाई भर्ना नगरिएको विषयमा आफुलाई कुनै जानकारी नभएको बताए।

प्रतिक्रिया