Bisal Chautari Logo

पश्चिमी नाकामा ‘नेपाल गेट’ बन्ने

- २७ आश्विन २०७७, मंगलवार ०५:२० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २७ मंगलवार । नेपालको पश्चिमी नाका गड्डाचौकीमा ‘नेपाल गेट’ निर्माण हुने भएको छ । भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा ‘नेपाल गेट’ बनाउने भएको हो ।
नेपाल प्रवेश गर्दा पहिचानका लागि भीमदत्त नगरपालिकाले त्रिदेशीय नाकाको उक्त बिन्दुमा आधुनिक गेट बनाउने लागेको छ ।

गेट निर्माणका लागि सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ । भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐरले दुई पास भएको गेट निर्माणका लागि अस्मिता विल्ड्रर्स प्रालिसँग ६२ लाख लागतमा गेट निर्माण गर्ने सम्झौता भएको बताए ।

‘गेटको दायाँबायाँबाट पास हुन्छ, ‘इन्जिनियर ऐरले भने, ‘आउँदो माघ मसान्तसम्ममा गेट निर्माण कार्य सकिन्छ ।’ गेटमा नेपालको नक्सा, बुद्धको मूर्ति लगायत नेपाली भूगोल, लोक संस्कृति झल्किने प्रतिक राखिने छन् ।  भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले भारत चिनको त्रिद्देशीय नाका गड्डाचौकी नेपाल प्रवेशद्वारमा गेट निर्माण कार्यको परिकल्पना जनताको मर्म अनुरुप भएको बताए ।

महाकाली नदीमा पुल निर्माणसंगै भारत जोड्ने र गड्डाचौकी, बम्हदेब हुँदै चीन जोड्ने महाकाली कोरिडोरको नेपाल प्रवेश बिन्दुमा गेट निर्माण कार्य नेपाली स्वाभिमान र पाहुनालाई स्वागतका लागि भएको मेयर विष्टले बताए । ‘कामका लागि हाम्रा नेपाली दाजुभाई दिदिबहिनी भारत गएका छन, ‘मेयर विष्टले भने, ‘फर्किदा गेट देखेर मातृभूमी पुगेको आभास होस ।’

विदेशी पाहुनालाई नेपाल प्रवेश गर्दा गेटबाट नेपालका राष्ट्रिय प्रतिक र गौतम बुद्ध जन्मेको देश भनेर अनुभूति हुनेछ । ‘गेटले पूर्ण नेपालीपनको झल्को दिन्छ, ‘मेयर विष्टले भने, ‘स्वदेशीको स्वाभिमान र विदेशीको स्वागत एवं विदाई गर्ने गेट हुनेछ ।’

गत आर्थिक वर्ष २०७६/०७७ मा  भीमदत्त नगरपालिकाले नै नेपाल प्रवेश क्षेत्र गड्डाचौकीमा ७७ फिट अग्लो नेपालको झण्डा स्थापना गरेको थियो । जनमत र चुनावी प्रतिबद्धता अनुरुप गेट निर्माण कार्य अघि बढाएएको मेयर विष्टले बताए । पश्चिम नेपालको गड्डाचौकी नाका भारतको राजधानी दिल्लीसंगको सबैभन्दा नजिकको नाका हो ।

गड्डाचौकीदेखि दिल्ली करिब तीन सय ७९ किलोमिटर मात्रै छ । महाकाली नदीमा पुल निर्माणसंगै नेपालको विकास र सम्वृद्धि हुने अपेक्षा गरिएको छ । संघ र प्रदेश सरकारबाट परिकल्पना समेत नगरिएको योजना स्थानीय सरकार भीमदत्त नगरपालिकाबाट शुरुवात भएको छ ।

Bisalchautari TV

प्रतिक्रिया