Bisal Chautari Logo

कोरोना संक्रमितले लोक सेवा परीक्षा दिन नपाउने

- २६ आश्विन २०७७, सोमबार ०५:२० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २६ सोमवार । कोरोना संक्रमण भएको व्यक्तिले लोक सेवा आयोगले लिने परीक्षा दिन नपाउने भएको छ।

आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड-१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो।

आयोगको परीक्षा दिनका लागि परीक्षार्थी आफू संक्रमित भए/नभएको स्वयंले घोषणा गर्नुपर्नेछ। आयोगबाट सञ्चालन हुने प्रयोगात्मक/सीप परीक्षण सम्बन्धी परीक्षा, अन्तर्वार्ता, सामुहिक छलफल, प्रस्तुतीकरणलगायतका कार्य सञ्चालन गर्दा समेत स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषयमा यस मापदण्डको पालना गर्नुपर्नेछ।

उक्त मापदण्डको पालना नगरेको खण्डमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत आयोगले जनाएको छ।

सरकारले नयाँ विज्ञापन खुलाउन तथा रोकिएका परीक्षा सञ्चालन गर्न आयोगलाई सैद्धान्तिक सहमति दिइसकेको छ। सोही आधारमा आयोगले परीक्षाको तयारी थालेको हो। गत वैशाखदेखि रोकिएको लोक सेवाको विज्ञापन तथा परीक्षा यसै महिना शुरू हुँदैछ।

१०० जना परीक्षार्थीको लागि एक परीक्षा केन्द्र कायम गरिनेछ। एउटा परीक्षा हल/कोठामा बढीमा२५ जना परीक्षार्थी रहने गरी व्यवस्थापन गरिनेछ। एउटा भवनमा एकभन्दा बढी परीक्षा केन्द्र राखिने छैन।

तर, पर्याप्त स्थान/भवन भएको अवस्थामा सोही स्थानमा एकभन्दा बढी केन्द्र पनि राख्न सकिनेछ। आयोजका अनुसार एक परीक्षा केन्द्रमा एकजना केन्द्राध्यक्ष, एक उपकेन्द्राध्यक्ष, प्रति २० जना परीक्षार्थीमा एक सहायक केन्द्राध्यक्ष, एकजना समन्वयकर्ता, प्रति १५ परीक्षार्थी बराबर एकजना निरीक्षक तथा तीनजना सहयोगी जनशक्ति खटाइने छ।

प्रतिक्रिया