Bisal Chautari Logo

यस वर्षको तिहारमा रानीपोखरी खूल्ने

- २४ आश्विन २०७७, शनिबार ०७:१३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २४ शनिवार । 
पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उदघाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ ।

गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरीमा अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए ।

भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष तिहारमा सर्वसाधारणले बालगोपालेश्वर मूर्तिलाई पोखरीमा रहेको पुलको मुखमा राखी दर्शन गर्ने गरेका थिए ।

पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा यही असोज १५ गते बिहान ८ बजेको साइतमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिसकिएको छ । मुख्य गजुर १२३ किलोग्राम तौलको तामाले बनेको हो । गजुरको बाहिरी भागमा भने सुन लेपन गरिएको छ ।

प्रतिक्रिया