Bisal Chautari Logo

बर्दियामा हात्ती आतंक : काटेर सुकाएको धान सखाप

- २४ आश्विन २०७७, शनिबार ०४:४५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २४ शनिवार । बर्दियाको मधुवन नगरपालिका वडा ३ का दिनेश चौधरीले धान काटेर खेतमा सुकाएका थिए । उनीसँगै धान काटेका केहि कृषकहरुले हरियो धान नै खेतबाट उठाए । दिनेशले भने एक दिन सुकाएर खेत मै थ्रेसरले धान दाउने भनी छोडेका थिए । भोलीपल्ट बिहानै दिनेश खेतमा जाँदा छाँगाबाट खसे जस्तै भए । उनको खेतको सबै धान एक हुल हात्ति आएर सखाप पारिदिएछ । 

हात्ती आएको थाहा पाएर धपाउन आउँदै थियौँ दिनेशले भने ‘सुरुमा मेरो धान भएकोले धपाउँदा धपाउँदै खाएर सखाप पार्‍यो, अरु छिमेकीको धान केही बँचेपनि मेरो धान भने सबै सखाप पार्यो ।’ ‘काटेर सुकाएका थियौँ । कोही किच्यो कोही खायो, उनले भने ‘धानको बाला खाएपछि अब पराल सोरौँ कि नसोरौँ भएको छ ।’

उनीसँगै धान खेती गरीरहेका टिकाराम थारु अहिले हरियो धान धमाधम काटिरहेका छन् । ‘हात्तीले जुनसुकै समयमा धान खान सक्ने भएपछि उनले मेसिन लगाएर धान काट्न सुरु गरेका हुन् । ‘धान काँचै भएपनि काटेँ । अघिल्लो दिन छिमेकीको धान खायो, उनले भने ‘सबैले धमाधम धान काटिसकेका छन् । मैले पनि काटेँ ।’ मधुवन नगरपालिका वडा नं ३ धनौरामा भारतीय सिमावर्ती जंगलबाट आएको हात्तीले वर्षेनी सताउने गर्छ ।  सिमावर्ती क्षेत्रमा रहेका कृषकहरुको खेतीबाली हरेक वर्ष जंगली हात्तिले क्षति गर्ने भए पनि  हात्ती रोक्न कुनै प्रयास गरीएको छैन ।

मधुवन नगरपालिका ३ धनौराका भरत केसीले सरकारले हात्ती रोक्नका लागि कुनैपनि प्रयास नगरेको बताए । खाता समन्वय समिति बर्दियाका अध्यक्ष बलिराम थारुले हात्तीले गरेको नोक्सानीको बारेमा फाइल बनाएर जिल्ला वन कार्यालयमा पठाएको बताए । उनले हात्तीको नोक्सानी कम गर्न हात्तीले नोक्सानी नगर्ने खालका वैकल्पिक खेतीको लागि अभियानको सुरुवात गरेको बताए । उनले भने ‘हाल मधुवन नगरपालिका ३ मा डिभिजन वन कार्यालयको सहयोगमा  कागती खेतीको सुरुवात गरेका छौँ । जति कृषकले कागती खेती गर्न चाहन्छन् उनीहरुको लागि कागतीको विरुवा उपलब्ध गराइने उनले बताए ।

प्रतिक्रिया