Bisal Chautari Logo

चितवनमा तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

- २१ आश्विन २०७७, बुधबार ०४:३९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २१ बुधवार ।चितवन- चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट तीन वर्षमा ३६ जनाको मृत्यु भएको छ। यद्यपि स्थानीय बासिन्दा र वन्यजन्तुबीच पछिल्लो समय द्वन्द्व घट्दै गएको छ।

चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्यांकनुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको छ। निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जंगली जनावरले आक्रमण गर्दा पछिल्लो तीन वर्षमा ३६ जनाले ज्यान गुमाएका हुन्।

पछिल्लो तीन वर्षको अवधिमा जनावरको आक्रमणबाट आर्थिक वर्ष २०७५–७६ मा सबैभन्दा बढी मानवीय क्षति भएको निकुञ्जको तथ्यांकामा उल्लेख छ। सो आवमा वन्यजन्तुको आक्रणमा परी २२ जनाको मृत्यु भएको र १२० जना घाइते भएका थिए।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामका अनुसार आव २०७४–७५ मा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु तथा ३२ जना घाइते भएका थिए।

आर्थिक वर्ष ०७६–७७ मा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको थियो भने घाइतेको सङ्ख्या ३४ रहेको सूचना अधिकारी रामले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्जबाट जनावर सजिलै मध्यवर्ती क्षेत्रमा प्रवेश गर्ने र मानिससँग भेट हुँदा उनीहरुले आक्रमण गर्ने गरेको उनले बताए।

मानव–वन्यजन्तु द्वन्द्व बढेपछि यसको नियन्त्रणका लागि निकुञ्जले मध्यवर्ती क्षेत्रमा करेन्टको झड्का तथा मेसजाली लगाउन थालेको छ। ‘निकुञ्जका जनावर बस्तीमा प्रवेश रोक्नका लागि सबैभन्दा प्रभावकारी आरसिसी पर्खाल भएको छ,’ सूचना अधिकारी रामले भने, ‘यो धेरै खर्चिलो भएकाले निकुञ्जले मेसजाली तथा झड्का लगाउन सहयोग गर्ने गरेको छ।’

विद्युतीय झड्काबाट वन्यजन्तुलाई क्षति नहुने भन्दै उनले त्यो विद्युतीय झड्का नाघेर जनावर बस्तीमा पस्न नसक्ने बताए।

छ करोड राहत वितरण
निकुञ्जका जनावरबाट हुने मानवीय क्षतिका लागि वर्षेनी राहत प्रदान गरिँदै आएको सूचना अधिकारी अशोक रामले बताए। उनका अनुसार पछिल्लो तीन वर्षमा जनावरका कारण मृत्यु भएका तथा घाइते भएका व्यक्तिको परिवारलाई करिब छ करोड राहत प्रदान गरिएको छ।

आर्थिक वर्ष ०७४–७५ देखि आव ०७६–७७ सम्म वन्यजन्तुको आक्रमणबाट भएको मानवीय क्षतिवापत निकुञ्जले राहतस्वरुप पाँच करोड ९० लाख ९६ हजार ६ सय ४४ रुपैयाँ राहत वितरण गरेको रामले बताए।

प्रतिक्रिया