Bisal Chautari Logo

‘दि कर्मा’को च्यारिटी शो: पायो राम्रो प्रतिक्रिया

- १६ माघ २०७६, बिहीबार ०८:०६ मा प्रकाशित


The Karma|paramita rl rana, Buddhi Tamang, Neeta Dhungana,
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ १६ बिहिबार ।
यो शूक्रबार रिलीज हुन लागेको नेपाली चलचित्र ‘दि कर्मा’को च्यारिटी शो आयोजना सम्पन्न भएको छ । मंगलवार राजधानीमा आयोजित शो नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ गरिएको हो । उक्त प्रदर्शनीबाट संकलित सम्पूर्ण रकम कलाकार संघलाई प्रदान गरिएको निर्माता जय राज रायले बताए ।

कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले च्यारिटीको लागि हलमा रिलीज नहुँदै चलचित्र प्रदर्शन गरेर सहयोग गरेकोमा कलाकार संघ सदैव आभारी रहने बताए । ‘च्यारिटीलाई चलचित्र निशुल्क दिने निर्माताहरु पनि भेटिने रहेछ, उहाँहरुले त झन् टिकट समेत किन्नुभएको छ । यो सहयोग कलाकार संघले कहिल्यै बिर्सने छैन’, उनले भने ।उक्त शोमा चलचित्र यूनिट पनि उपस्थित थियो । चलचित्र हेरिसकेपछि नायिका परमिता आर.एल. राणा तथा अभिनेता बुद्दी तामांगले प्रतिक्रिया लिएका थिए । नायिका राणाले आफ्नो कामलाई प्रसंशा गरेकोमा सबैलाई धन्यवाद दिईन् । ‘यो चलचित्र राम्रो पनि बनेको छ त्यसकारण पनि माघ १७ मा हलमा गएर हेर्नुहोला अनि नेपाली चलचित्रलाई माया पनि गर्नुहोला’, प्रसन्न मुद्रामा राणाले भनिन् ।
अभिनेता तामांगले पनि राम्रो प्रतिक्रियाले खुशी लागेको बताए । ठट्यौली शैलीमा उनले भने, ‘चलचित्र हेर्नेहरुले मेरो र चलचित्रको तारिफ गरिदिँदा म मख्ख नपरेर को पर्छ त ? छिमेकी ?’ तामांगले आफुले भन्नु भन्दा पनि दर्शकले कसरी लिनुहुन्छ भन्ने मूख्य कुरा रहेको साथै ‘दि कर्मा’ दर्शकलाई मन पर्छ भन्नेमा बिश्वास रहेको जनाए ।
चलचित्रका निर्देशक देव कुमार श्रेष्ठले कलाकार संघलाई चलचित्र मार्फत सहयोग गर्न पाउनु पनि निकै गर्वको कुरा भएको बताए ।
निर्माता तथा कलाकार जय राज रायले कलाकार संघले आर्थीक सहयोग जुटाउन खोजिरहेको थाहा पाएपछि आफुले चलचित्र च्यारिटीलाई दिने निधो गरेको बताए । उनले थपे, ‘म आँफै पनि निर्माता तथा कलाकार भएकोले पनि सहयोगको कुरा आएपछि हामीले च्यारिटीलाई चलचित्र दिएका हौँ । ‘दि कर्मा’को यो च्यारिटीबाट संकलित सम्पूर्ण रकम हाम्रो टीमले कलाकार संघलाई नै प्रदान गरेको छ’ ।
निर्माता श्रीदेव बि.एल.ले चलचित्र हेरेर दिग्गज कलाकारहरु सबैले राम्रो प्रतिक्रिया दिएको बताए । ‘दर्शकले पनि मन पराउनेमा पूर्ण बिश्वास छ । हाम्रो टीमले राम्रो चलचित्र बनाउने प्रयास गरेका छौँ’, बि.एल.ले बताए ।
जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।
चलचित्रमा परमिता, बुद्दी, जयसँगै करण वर्मा, नीता ढुंगाना, बुद्दी तामांग, संगीता नापित, अनुप सक्सेना लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

प्रतिक्रिया