Bisal Chautari Logo

रोल्पामा सांस्कृतिक उत्सव सम्पन्न

- ४ चैत्र २०७०, मंगलवार ०७:५८ मा प्रकाशित


विशाल चौतारी समाचार
रोल्पा, ४ चैत ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग, लोक सङ्गीत विभाग र नृत्य विभागको संयुक्त आयोजना र राप्ती साहित्य परिषद् जिल्ला शाखा, रोल्पाको स्थानीय संयोजन तथा सहकार्यमा २०७० फागुन ३० गते र चैत्र १ गते गरी दुई दिवशीय विचार गोष्ठी तथा अन्तरक्रिया, सांस्कृतिक उत्सव एवं कला साधक सम्मान कार्यक्रम रोल्पा, लिवाङमा सम्पन्न भएको छ ।
पहिलो दिनको गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा ‘रोल्पा जिल्लाका प्रचलित लोक गीत, लोक नृत्य र लोक बाजा’ विषयक कार्यपत्र संस्कृतिकर्मी श्री डी.वी. टुहुरोले प्रस्तुत गरेका थिए । बीचार गोष्ठी तथा अन्तरक्रियामा प्रस्तुत गरिएको कार्यपत्रमाथि बुद्धिजिवि वर्ग, संस्कृतिकर्मी, कलाकार र कलाप्रेमीहरुले टिप्पणी गर्नुका साथै प्रस्तुत कार्यपत्रले समेटन नसकेका कुराहरु समेटन आ आफ्ना अमुल्य सुझावहरु दिनुभयो । सांस्कृतिक जागरणका लागि विभिन्न जात जाति, समुदायहरुको र्‍यालीले रोल्पा लिवाङ बजार परिक्रमा गरी प्रारम्भ भएको दोश्रो दिनको सांस्कृतिक उत्सव एवम् कला साधक सम्मान कार्यक्रममा रोल्पा जिल्लाका विभिन्न जात जातिका स्थानीय नृत्य र गीतहरु प्रस्तुत गरिएका थिए ।
मगर समुदायको ज्यामारे गीत, कथौती गीत, सोरठी नृत्य र दलित समुदायको पञ्चैबाजा लगायत ७ प्रकारका विभिन्न नृत्य र गीतहरु प्रस्तुत गरिएका थिए । यसैगरी उक्त कार्यक्रममा विभिन्न विधामा विधागत योगदन पुर्‍याउनु हुने : लोक गीत गायन, संकलन, वाद्यवादन, लोक दोहोरी गायन, नृत्य  र गीत रचनामा श्री कुलानन्द गिरी, लोक गीत गायन संकलन तथा लोक दोहोरी गायनमा श्री पवित्रा घर्ती र नृत्य, वाद्यवादन, सङ्गीत र लोक दोहोरी गायनमा उदिराम खडकालाई जनही नगद रु. १०,०००।– पुरस्कार, ताम्रपत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । यसैगरी समाजमा विशिष्ट योगदान पुर्‍याउनु भएका १५ जना व्यक्तित्वहरूलाई प्रतिष्ठानको प्रतिक चिन्ह प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै स्थानीय संयोजक डी.बी. टुहुरोले रोल्पा जिल्लामा प्रज्ञा प्रतिष्ठानको उपस्थिति महत्वपूर्ण भएको, यस्तो प्रकारको कार्यक्रमले यस क्षेत्रको कला संस्कृति जगेर्ना गर्न महत्वपूर्ण योगदान दिने र स्थानीय स्तरमा लोक संस्कृति संरक्षण उर्जा प्रदान भएको बताए । कार्यक्रममा सम्मानीत तीनैजना व्यक्तित्वहरुले आफ्नो आफ्नो विधाका प्रतिभाहरु दर्शकहरुलाई पस्किए । प्रतिष्ठानका तर्फबाट पनि केही गीत  र नृत्यहरु पनि प्रस्तुत गरिएका थिए । कार्यक्रममा कलाकार, साहित्यकार, राजनीतिक दलका प्रतिनिधि लगायत अपार जन सहभागिता रहेको  थियो ।

add

प्रतिक्रिया