Bisal Chautari Logo

चलचित्र ‘१२ गाउँ २’को ‘रेशमी रुमाल’ सार्वजनिक

- २१ आश्विन २०८३, बुधबार २२:३१ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, 
अभिनेता विराज भट्टको निर्देशन तथा निर्माणमा तयार भएको चलचित्र ‘१२ गाउँ २’ प्रदर्शनको संघारमा पुगेसँगै यसको प्रचार सामग्रीले दर्शकको ध्यान लगातार तानिरहेको छ । एक्सनप्रधान टिजरबाट चर्चा बटुलेको चलचित्रले गीतमार्फत आफ्नो अर्को पक्ष पनि विस्तारै खुलाउँदै लगेको छ ।

चलचित्रको प्रचार यात्रामा सार्वजनिक भएको ‘जुनेली’ पहिलो गीत थियो । सुगम पोखरेलको स्वर रहेको गीतमा समीर भट्ट र कृशु शाहीलाई प्रेमिल भावमा प्रस्तुत गरिएको थियो । गीतमा उनीहरूको नृत्यसँगै समीरको डान्स र ब्रेकडान्सले पनि चर्चा पाएको थियो ।

त्यसपछि सार्वजनिक ‘लालीगुराँस’ले ‘१२ गाउँ २’को प्रेमकथालाई अझ नजिकबाट देखायो । एक्सनले भरिएको टिजर हेरेपछि चलचित्रमा केवल द्वन्द्व र बदलाको कथा मात्रै होला कि भन्ने अनुमान भइरहेका बेला ‘लालीगुराँस’ले समीर र कृशुको प्रेमिल जोडीलाई केन्द्रमा राख्दै चलचित्रभित्रको रोमान्टिक पाटो पनि बलियो रहेको संकेत दिएको थियो ।

यही क्रमलाई अगाडि बढाउँदै बुधबार ‘रेशमी रुमाल’ सार्वजनिक भएको छ । गीतको भिडियोमा विराज भट्ट र वर्षा इटानीको जोडीलाई केन्द्रमा राखिएको छ । ‘१२ गाउँ २’को अघिल्ला सामग्रीभन्दा फरक अनुभूति दिने प्रयास गीतमा देखिन्छ । चलचित्रलाई एक्सनको आवरणमा प्रस्तुत गरिए पनि यसको कथामा प्रेम र सम्बन्धको पाटो पनि महत्वपूर्ण रहेको संकेत गीतहरूले दिइरहेका छन् ।

विशेषगरी ‘रेशमी रुमाल’को प्रस्तुति हेर्दा निर्माण पक्षले चलचित्रका गीतलाई केवल प्रचार सामग्रीका रूपमा नभई कथाको भावनात्मक पक्षसँग जोड्ने प्रयास गरेको देखिन्छ । ‘जुनेली’ले सुरुवातमा समीर–कृशुको जोडीलाई दर्शकमाझ चिनायो भने ‘लालीगुराँस’ले उनीहरूको प्रेमलाई थप नजिक ल्यायो । अब ‘रेशमी रुमाल’ले विराज र वर्षाको जोडीको सम्बन्धलाई अर्को तहमा पुर्‍याउने अपेक्षा गर्न सकिन्छ ।

‘१२ गाउँ २’को सबैभन्दा ठूलो आकर्षण भने यसको एक्सन नै हो । फिल्मको टिजर सार्वजनिक हुँदा निर्माण पक्षले एक्सन, द्वन्द्व र बदलाको कथालाई प्राथमिकतामा राखेको स्पष्ट संकेत गरेको थियो । तर गीतहरू सार्वजनिक हुँदै जाँदा फिल्ममा एक्सनसँगै प्रेम, भावना र पारिवारिक सम्बन्धको पाटो पनि रहेको देखिँदै गएको छ ।

यसले फिल्मप्रतिको दर्शकको उत्सुकता अझ बढाएको छ । किनकि एक्सन फिल्मको अपेक्षा गरेर हल पुग्ने दर्शकले त्यहाँ केवल द्वन्द्व मात्रै नभई प्रेमकथा र भावनात्मक उतारचढाव पनि पाउने संकेत गीतहरूले गरेका छन् ।

चलचित्रमा बिराज, समीर, कृशु र वर्षाका अलावा अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारको अभिनय छ । यही चलचित्रबाटबाट कृशु शाही (काफिया) र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।

दशैंको अवसरमा असोज ३० गते प्रदर्शनमा आउन लागेको ‘१२ गाउँ २’ले नेपाली फिल्मको ठूलो चाड मानिने दशैंमा दर्शक तान्न यही मिश्रणलाई आफ्नो प्रमुख हतियार बनाउने देखिन्छ । एक्सन, प्रेम, नयाँ पुस्ताका कलाकार र विराज भट्टको नामसँग जोडिएको ब्रान्ड यी सबै कारणले यो चलचित्रप्रति अहिले नै दर्शकको चासो बढेको छ ।

सिनेमामा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

सिनेमाको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन् ।

प्रतिक्रिया