Bisal Chautari Logo

राजनैतिक दवावमा मिलाईयो बलात्कारको घटना

- ८ चैत्र २०७०, शनिबार १७:२५ मा प्रकाशित


Political Mylar Memos rape
दमन राई
खोटाङ, ८ चैत ।
खोटाङमा बलात्कारका एउटा घटनालाई दवाव दिएर आथिर्क लेनदेनमा मिलापत्र गराइएको खुलासा भएको छ । एक दलित महिलामाथि भएको बलात्कारका घट्नालाई राजनैतिक दवावका आधारमा आथिर्क लेनदेनमार्फत जबरजस्ती मिलापत्र गराइएको खुलासा भएको हो ।
गत फागुन–२५ गते राती बलात्कृत भएकी ४० वर्षकी महिलालाई एमाले समर्थक नेताहरुको दवाबमा मिलापत्र गराइएको पीडित पक्षको भनाई छ । बलात्कारको आरोपमा सप्तेश्वर–८ का १७ वर्षका सन्देश राई गत फागुन–२९ गते पक्राउ परेका थिए । एमाले समर्थक नेताहरुको दबाबमा २० दिनभित्र पीडित महिलालाई १ लाख रुपैयाँ दिने र जग्गा समेत पास गरिदिने शर्तमा मिलापत्र गराइएको खुलासा भएको हो ।
श्रोतका अनुसार पीडित महिला न्याय खोज्दै सदरमुकाम दिक्तेलसम्म आएपनि आरोपित पक्षले प्रहरीसम्म पुग्न नदिई बाटैमा मिलापत्र गराएर फर्काएको हो । एमाले खोटाङका सचिवालय सदस्य कुमार आचार्य, सप्तेश्वरका एमाले कार्यकर्ता माइतीराज राई, नरेश राईलगायतका नेता तथा कार्यकर्ताहरुको संलग्नतामा घट्नामा मिलापत्र गराइएको श्रोतले जनाएको छ । सचिवालय सदस्य आचार्यले भने आफू उक्त मिलापत्रमा सहभागी नभएको बताउनुभयो । आरोपित राई सप्तेश्वरस्थित थर्पुडाँडा माविका शिक्षक नरेश राईको छोरा भएकाले पीडित पक्षसँग छलफल गराई मिलापत्र गराएको श्रोतले जनाएको छ ।  स्थानीय सप्तेश्वरका खगेन्द्र राईले पीडित महिलालाई १ लाख रुपैयाँ दिने सर्तमा मिलापत्र गरिएको श्रोतले बताएको छ ।
दवाबमा गरिएको मिलापत्रपछि ८ दिनसम्म प्रहरी हिरासतमा राखिएका आरोपित राईलाई प्रहरीले अनुसन्धान नै नगरी छाडेको छ । राईलाई म्याद थप नै नगरी ८ दिनसम्म थुनामा राखेर बिहीबार साँझ छाडिएको हो । पीडित महिला जिल्ला प्रहरी कार्यालयमा उपस्थित नभएपछि आरोपित राई विरुद्ध कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन नसकिएको प्रहरी नायव निरीक्षक यादव गौतलले बताए । ‘पीडित महिलाको तर्फबाट इलाका प्रहरी कार्यालय बाक्सिलामा परेको ठाडो उजुरीको आधारमा आरोपितलाई पक्राउ गरेका थियौं,’ गौतमले भन्नुभयो, ‘पीडित नै नआएपछि ८ दिनसम्म हिरासतमा राखेर अनुसन्धानै नगरी छाडिएको हो ।’ घट्नाका बिषयमा आफूहरुलाई कुनै जानकारी नआएको पारालिगल समिति खोटाङका सचिव डिल्लीकुमारी आचार्यले बताए । ‘पीडितले न्याय र पीडकलाई कारबाही हुनुपर्छ,’ आचार्यले भन्नुभयो, ‘अन्यथा पीडितलाई सम्बन्धित निकायसम्म पुर्‍याउन हामी मद्धत गर्छौं ।’ जिल्लास्थित राजनीतिक दलका नेताहरुले भने, पीडितले न्याय र पीडकलाई कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।

add

प्रतिक्रिया