Bisal Chautari Logo

खोटाङको खाल्ले र याम्खाको सिमाना साप्सुखोलामा मोटरेबल पक्की पुल बन्ने

- २२ जेष्ठ २०७६, बुधबार १८:०५ मा प्रकाशित


Diprung Chuichumma news
विशाल चौतारी समाचार
खोटाङ, २०७६ जेठ २२ बुधबार ।
खोटाङको खाल्ले र याम्खाको सिमानामा रहेको साप्सुखोलास्थित ‘बाटो फेदी’ भन्ने स्थानमा निर्माण हुने मोटरेबल पक्की पुल बन्ने भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले सिमानामा पर्नेे साप्सुखोलामा ४० मिटर लम्बाई र ६ मिटर चौडाईको मोटरेबल पुलको ठेक्का लागेको हो ।
खाल्लेको आहालेबाट साप्सुखोला हुंदै याम्खासम्म गाउँपालिकाले विस्तार गरेको सवैभन्दा छोटो दुरीको सडकको बिचमा पर्नेे साप्सुखोलाको बाटो फेदीमा बन्ने मोटरेबल पक्की पुलको ठेक्का सुर्य एण्ड सन्स प्रालिलाई लागेको हो ।

पुलका लागि गाउँपालिकाले इ–बिडिङबाट प्राविधिकरआर्थिक प्रस्ताव छट्टाछुट्टै माग गरिएपछि सवैभन्दा कम कबोलमा उक्त निर्माण कम्पनीलाई ठेक्का परेको गाउँपालिकाका आइटी अफिसर मणिचन्द्र राईले जानकारी दिए । ठेक्का लागेपछि जेठ १७ गते गाउँपालिका र निर्माण कम्पनीविच सम्झौता भएको छ । ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँ लागतमा निर्माण हुने मोटरेबल पुल सम्झौता भएको मितिले दुई वर्षभित्र सम्पन्न गर्नुपर्नेछ ।

पुलका लागि प्रदेश सरकारबाट १ करोड ३५ लाख बजेट बिनियोजन भएको छ । अपुग बजेट प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । प्रदेश र सङघीय सरकारले बजेट नदिएमा गाउँपालिकाबाट बजेटको व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष राईले बताए । हप्ता दिनमा निर्माण कम्पनी, गाउँपालिका, स्थानीय तथा सरोकारवालाविच सार्वजनिक सुनुवाई गरेर पुलको काम सुरु हुने उनले बताए । तर, पुल निर्माणमा प्राविधिक सहयोग गर्ने एलआर बिपीसँग ड्रोइङको पर्खाइमा रहेको र एलआर बिपीबाट ड्रोइङ प्राप्त भएपछि काम सुरु गरिने निर्माण कम्पनी सुर्य एण्ड सन्सका निर्देशक उमेश श्रेष्ठले बताए ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईसंग गरिएको कुराकानी हेर्नुहोस् :-

जिल्लाको दक्षिणी भेगका स्थानीयका लागि सदरमुकाम दिक्तेल आवतजावत गर्न सबैभन्दा छोटो दुरीको सडकमा पक्की पुल बन्ने भएपछि स्थानीय हर्षीत भएका छन् । निर्वा्चित भएको तीन महिनामा पुलको डिपिआर तयार गरेको गाउँपालिकाले अथक प्रयासमा टेण्डर आव्हानको प्रक्रिया सकेर पुल बनाउने टुंगोमा पुगेपछि गाउँपालिकाले बिकासमा फड्को मार्ने अपेक्षा गरिएको छ । सदरमुकाम दिक्तेल नजिक रहेको गाउँपालिका जानआउन छोटो दुरीको सडकमा पुल नहुंदा भनेजस्तो बिकास गर्न नसकिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ । पुल नहुंदा हाल हिउँदमा पानी घटेको बेला मात्र उक्त रुटमा सवारी साधन चल्ने गरेको छ । साप्खुखोलामा पक्की पुल नहुनु नै सो गाउँपालिकासहित अन्यका लागि बिकासको बाधक बनेको छ ।

प्रतिक्रिया