Bisal Chautari Logo

३३ वर्षीय युवकको कुटपिट गरी हत्या, दुई पक्राउ, एक फरार

- १५ चैत्र २०७५, शुक्रबार ०५:३८ मा प्रकाशित


MURDER CASE

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १५, शुक्रवार।
पर्वत जिल्लाको मोदी गाउँपालिका– ८ चित्रेमा कुटपिट गरी एक युवाको हत्या भएको छ । गत मङ्गलबार राति ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाबीच झगडा हुँदा स्थानीय ३३ वर्षीय सन्तोष भन्ने गङ्गाप्रसाद विकको हत्या भएको हो ।

चित्रेस्थित नेपानेसादी खोलामा कुटपिट गरी विकको हत्या गरेको आरोपमा स्थानीय दुई युवा पक्राउ परेका छन् । हत्या भएको सूचना पाएलगत्तै प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीको नेतृत्वमा खटिएको टोलीले सोही ठाउँको सामुदायिक जङ्गलमा लुकीछिपी बसेको अवस्थामा २३ वर्षीय दलबहादुर नेपाली र २३ वर्षकै रविन सुनार पक्राउ परेका छन् ।

पक्राउ परेका युवाले प्रारम्भिक बयानमा घटना स्वीकार गरेका छन् । मुख्य अभियुक्त २६ वर्षीय कृष्णबहादुर सुनार फरार रहेको र निजको खोजीकार्य जारी रहेको छ ।

गत मङ्गलबार राति ९ बजेको समयमा मृतक गङ्गाप्रसाद विक, पक्राउ परेका नेपाली र सुनार तथा फरार रहेका कृष्णलेसँगै बसी मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा सामान्य विवाद हुँदा तीन जना मिलेर गङ्गाप्रसादको हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तलाई बिहीबार पर्वत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक तिवारीले जानकारी दिनुभयो । मृतक विकको शव परीक्षणकाका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

अवैध हतियार बुझाउन आनाकानी

पर्वतमा अवैध हतियार राखेकाले सरकारी अनुरोध अटेर गरेका छन् । अवैध हतियार फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको १५ दिनसम्म पनि हतियार फिर्ता गर्न कोही आएका छैनन् ।

जिल्लामा हतियार फिर्ता गर्न अनुरोध गरिएपछि अहिलेसम्म हतियार फिर्ता गर्न कोही नआएको जिल्ला प्रहरी प्रमुख तिवारीले जानकारी दिनुभयो । उहाँले अवैध हतियार फिर्ता गर्न ठाउँठाउँमा खबर गरेको बताउनुभयो । तिवारीले मातहतका प्रहरी र जनप्रतिनिधिमार्फत सूचना प्रवाह गरिरहेको जानकारी दिनुभयो ।

जिल्लामा २८५ ले हतियार लिने अनुमति लिएको भए पनि नियमितरूपमा हतियारको नवीकरण जम्मा ६० ले मात्रै गर्दै आएका छन् । दुई सय २५ ले नियमित हतियारको नवीकरण नगरेको जिल्ला प्रशासन कार्यालयको रेकर्डले देखाउँछ । नेपाल सरकारले ३५ दिनभित्र हतियार फिर्ता गर्न अनुरोध गरिरहेको छ । तोकिएको दिनसम्म हतियार नबुझाए हातहतियार तथा खरखजना ऐन, २०१९ अनुसार कारवाही हुने सरकारले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अधिकांशसँग बाह्र बोर, नलकटुवा र भरुवा बन्दुक रहेको पाइएको छ । रासस

प्रतिक्रिया