Bisal Chautari Logo

राष्ट्रपति भण्डारीले गरीन् कतारलाई बाई बाई युएईलाई हाई हाई, कारण यस्तो छ

- २७ कार्तिक २०७४, सोमबार ०७:४१ मा प्रकाशित


President Bhandari in foreign tour
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २७ सोमवार । राष्ट्रपति विद्यादेवी भण्डारी छोरीसमेत २६ जनाको जम्बो टोली लिएर सोमबार विदेश भ्रमणमा जाँदैछिन् । आज अपरान्ह संंयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा जान लागेकी हुन् ।
                                                                                                                       फाइल फोटो

राष्ट्रपति भण्डारीले कतारले दिएको निम्तो अस्वीकार गर्दै युएईको भ्रमण रोजेकी छिन् र यसबाट खाडी मुलुकको द्वन्द्वमा नेपाल अनावश्यक रुपमा विवादमा तानिने त्रास बढेको कूटनीतिक क्षेत्रमा टिप्पणी हुन थालेको छ ।
राष्ट्रपति भण्डारीको युइए भ्रमणबारे परराष्ट्रमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा असहमत रहेको बाहिर चर्चा चले पनि परराष्ट्र मन्त्रालयले भ्रमणमा सहमति जनाइसकेको छ ।
यसैवीच परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रपतिको भ्रमणमा दुईपक्षीय हितका विषयमा छलफल हुने र यसले दुई देशवीचको सम्बन्धलाई सुमधुर बनाउने बताएको छ ।
स्रोतका अनुसार यसअघि नै कतारले राष्ट्रपति भण्डारीलाई विदेश भ्रमणको निम्तो दिएको थियो । तर, युएई लगायत चारवटा खाडी राष्ट्रले कतारमा नाकाबन्दी लगाएका कारण यस्तो अवस्थामा नेपालका राष्ट्र प्रमुख विवादमा मुछिनु हुँदैन भन्दै भण्डारीको कतार भ्रमण रोकिएको थियो ।
कतारले भ्रमणको निम्तो दिएको थाहा पाएपछि युएईले पनि राष्ट्रपति भण्डारीलाई निम्तो दियो । गत मंगलबार मात्रै युएईका राजदूतले शीतलनिवासमा भेटेर अबुधाबीका राजकुमारको निम्तोपत्र राष्ट्रपति भण्डारीलाई बुझाए । त्यसको एक साता पनि नबित्दै राष्ट्रपति भण्डारी २६ जनाको जम्बो टोलीसहित युएई जान तयार भइन् ।
युएई भ्रमणमा राष्ट्रपतिको खासै एजेण्डाहरु छैनन् । सोमबार त्यहाँ पुगेपछि मंगलबार उनले दुबईका युवराजसँग भेटवार्ता गर्ने्छिन् । दुबईपछि अबुधाबीका भाइस प्रसिडेन्टसँग भेट गर्ने कार्यक्रम छ ।
साथै मंगलबार सरकारी अधिकारीहरुले दुईपक्षीय भेटघाट गर्नेछन् भने राष्ट्रपतिले युएईमा रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया