Bisal Chautari Logo

चेपाङको गुनासो न उम्मेदवार आए, न भोट हाल्न सिकाए

- २३ कार्तिक २०७४, बिहीबार १०:१० मा प्रकाशित


Chepung’s complaint
विशाल चौतारी समाचार
मलेखु, धादिङ , २०७४ कात्तिक २३ बिहिवार । पृथ्वीराजमार्ग क्षेत्रमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चहलपहल बढ्दै गएको छ । यहाँका मतदाता मङ्सिर १० गते मतदान गर्ने दिन पर्खेर बसेका छन् । यहाँ वाम गठबन्धन र नेपाली काँग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुवै दलका कार्यकर्ता हरेक दिन नाचगान गर्दै मत मागिरहेका छन् । तर, सडकमाथि रहेको चेपाङ बस्ती भने सुनसान छ ।
                                                                                                                   फाइल फोटो

स्थानीय तह निर्वाचनमा मतदान गर्न अघिल्लो दिन नै मतदान केन्द्र आएका चेपाङ अहिले कोही भोट माग्न नआएको बताउँछन् । दक्षिणी धादिङको ब्रुसबाङमा ३६ घर चेपाङ समुदायको बस्ती छ ।
पृथ्वीराजमार्गको मलेखुबाट ९ घण्टाको यात्रापछि पुगिने उक्त गाउँ महाभारत पर्वतको डाँडामा पर्छ । चितवन सीमा क्षेत्रमा पर्ने ब्रुसबाङ अभावै अभावले ग्रस्त गाउँ हो । गाउँका धनी भनिएका टेकबहादुर चेपाङको घरमा आफ्नो बारीको उत्पादनले तीन महिना मात्र खान पुग्छ ।
“खानेकुरा नभएपछि सिस्नु र टाँकीको मुन्टाको भरमा जीवन चलाउनु परेको छ,” स्थानीयवासी सूर्यमाया चेपाङले भने ।
गाउँमा सिस्नुको बोट हुने र टाँकीको बोट हुने धनी मानिन्छ । खानेपानी दुई घण्टा टाढा गएर ल्याउनुपर्ने हुन्छ । एक पटक पनि स्वास्थ्य संस्था नगईकन सुत्केरी हुने महिलाको सङ्ख्या अत्यधिक छ । गाउँबाट पाँच घण्टा टाढा स्वास्थ्य चौकी रहेको छ ।
“स्वास्थ्य चौकी होइन झाँक्रीकहाँ गएर झारफुक गर्नुपर्ने बाध्यता छ,” स्थानीयवासी टेकबहादुर चेपाङले भने । चुनाव नजिकिँदै गर्दा पनि ब्रुसबाङवासीलाई चुनावबारे जानकारी नभएको उनी बताउँछन् ।
“चुनाव आयो भन्ने खबर रेडियोमा सुनियो । कस्तो चुनाव हो, भोट हाल्न सिकाएका छैनन् । भोट माग्न समेत नेताहरू आका छैनन् । कसलाई भोटदिने भन्ने निक्र्योल भा छैन”, गाउँका अगुवा चेपाङले भने– “गाउँमा न उम्मेदवार आए न भोट हाल्न सिकाए ।” रासस

प्रतिक्रिया