Bisal Chautari Logo

गाउँपालिका बैठकमा कांग्रेस र माओवादीबीच खुकुरी हानाहान

- २० कार्तिक २०७४, सोमबार ०६:५९ मा प्रकाशित


Sword strike between Congress and Maoist at village council meeting
विशाल चौतारी समाचार
गोरखा, २०७४ कात्तिक २० सोमवार । भिमसेन गाउँपालिकामा कांग्रेस र माओवादीको विवाद हुँदा आइतबार साँझ भिमसेन–५ बगुवामा खुकुरी हानाहान भएको छ ।
दुई पक्ष बीचको झडपमा कांग्रेसका स्थानीय सबिन बानिँया, माओवादीका सुजन श्रेष्ठ र सुमन श्रेष्ठ गरी तीन घाइते भएका छन् । घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरुलाई उपचारका लागि सदरमुकाम ल्याइएको छ । गाउँसभाको बैठक सकिसकेपछि विवाद भएको हो । सभाले भिमसेन गाउँपालिकाको नाम भिमसेन थापा गाउँपालिका राख्ने निर्णय गरेको छ ।
बगुवा रहेको केन्द्र वडा नम्बर १ को घ्याम्पेशाल सार्ने विषयमा चाँहि विवाद भएको हो । कांग्रेस केन्द्र घ्याम्पेशाल सार्ने र माओवादी बगुवामा नै राख्नु पर्ने पक्षमा थिए । ‘बैठकमा दुई तिहाई बहुमतले केन्द्र सार्ने निर्णय गरिसकेपछि माओवादीका एक सदस्यले माइनुट च्यात्नु भयो’, गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेले भने, ‘त्यसपछि आक्रमण सुरु भयो ।’ गाउँपालिकामा प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको बहुमत छ । खुकुरी भालासहितका हतियार बोकेका युवाले आक्रमण गरेको पाण्डेले बताए ।
माओवादी केन्द्रका नेता लोकप्रसाद बञ्जराले ढोका थुनेर जबर्जस्ती गाउँपालिकाका केन्द्र सार्न खोज्दा झडप भएको बताए । ‘हाम्रा साथीहरुलाई नोटअफ डिसेन्ट लेख्न दिइएन, अनि झडपको रुपमा लियो’, उनले भने, ‘गाउँपालिकाको कार्यालयमा थुनेर राखिएका सदस्यहरुलाई लिन जाँदा कांग्रेसका युवाहरुले आक्रमण गरे ।’

प्रतिक्रिया