Bisal Chautari Logo

अध्यागमन कर्मचारी र प्रहरी नै यसरी बेच्छन् मान्छे

- २७ आश्विन २०७४, शुक्रबार ०९:०९ मा प्रकाशित


The immigration staff and the police will sell human
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २७ शुत्रबार । संयुक्त अरब इमिरेट्स पुगेर बिच्चलीमा परेका १५ नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरेको छ। त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलस्थित अध्यागमनका कर्मचारी, एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसामा उनीहरू गएका थिए । सरकारले काम गर्ने उद्देश्यले टुरिस्ट भिसामा खाडी मुलुक जान रोक लगाएको छ।
                                                                                                                      फाइल फोटो

विमानस्थलस्थित अध्यागमनका कर्मचारी र प्रहरीले सरकारी नीतिको धज्जी उडाउँदै मोटो रकमको प्रलोभनमा परी टुरिस्ट भिसाका व्यक्तिलाई सेटिङ गरी युएई पठाएका थिए।
दलालमार्फत युएई पुगेकाहरूले काम नपाएको र पठाउने व्यक्तिले समेत रेस्पोन्स नगरेको भन्दै दूतावासमा उजुरी गरेका थिए। उनीहरूलाई युएईस्थित नेपाली दूतावासले १० दिनपछि सकुसल नेपाल फर्काएको हो। उद्धार हुनेहरूमा मकवानपुरका सुनिल रावत, भीमबहादुर बम्जन, नवराज लो, सुन्दर तामाङ, दीपेन्द्र साम्देन, सुकुराम थिङ, बाग्लुङका इन्द्रबहादुर थापा, राजु थापा, नवलपरासीका कृष्णबहादुर भुजेल, सल्यानका कमल बुढाथोकी, तनहुँका ज्ञानबहादुर तामाङ, गोरखाका चन्द्रबहादुर गुरुङ, बाँकेका तुलसीप्रसाद शर्मा, सिन्धुपाल्चोकका फञ्जो तामाङ र काभ्रेका नरेश तामाङ छन्।
काठमाडौंस्थित पान्डोरा इन्कर्पोरेसन प्रालिका सञ्चालक ईश्वर भण्डारी, कार्यकारी निर्देशक केशव थापा र दलालहरू मकवानपुरका दिनेश लामा मोक्तान र धादिङका रमेश कँुवरले उनीहरूलाई युएई पठाएका थिए। खाडी मुलुक जाने जो कोहीले साथमा एक हजार डलर, दुईतर्फी हवाई टिकट, होटेल बुकिङ गरेपछि मात्रै प्रस्थान अनुमति पाउँछन्। तर अध्यागमनका कर्मचारीले यिनीहरूको हकमा केही खोजेनन्। सेटिङमा भएकालाई विमानस्थलमा न अध्यामगनका कर्मचारीले सोधखोज गर्छन् न त प्रहरीले नै, उनीहरू बिनारोकतोक खाडी मुलुक जान्छन्।

प्रतिक्रिया