Bisal Chautari Logo

माओवादी सरकार ढाल्ने पक्षमा छैन – अध्यक्ष दाहाल

- २१ आश्विन २०७४, शनिबार ०७:४७ मा प्रकाशित


Government is not in favor of molding – President Dahal
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २१ शनिबार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् ।
उनले भने “वाम गठबन्धन, पार्टी एकता फरक विषय हो । सरकार संविधान कार्यान्वयन गराउने लक्ष्यका साथ गठन भएको हो । यसको ध्येय आगामी मंसिरमा प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन गराउनेमा छ । हामी निर्वाचन सफल बनाउन चाहन्छाँै ।”
सिंहदरबारमा आज आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकता इतिहास र राष्ट्रिय दायित्व पूरा गर्नका लागि भएको बताए । अध्यक्ष प्रचण्डले भने “हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौँ, यो हाम्रो नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियान हो । यसले सरकारलाई कुनै असर गर्दैन, हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौँ । तर, प्रधानमन्त्री र नेपाली काँग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौँ । हाम्रो एकमात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो ।”
अध्यक्ष दाहालले एमाले, नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको बताए ।
उनले भने “एमाले, नयाँ शक्ति र हामीबीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको छ । तर, वैचारिक विषयमा बहस गरेर एकरुपता कायम गर्न बाँकी नै छ । एउटा अर्काेमा बिलय भएर एकता हुने होइन, वैचारिक राजनीतिक र संगठनात्मक विषयमा बहस गरेर हामी साझा टुंगोमा पुग्छौँ । अहिले हाम्रा आआफ्नै वैचारिक मान्यता कायम छन् ।”
बैठकमा केही सांसदले भने सैद्धान्तिक विषयमा एकरुपता कायम नगरीकन एमालेसँग एकता नै गरी हाल्नुपर्नाको कारणबारे अध्यक्ष दाहालसँग प्रश्न गरेका थिए । हतारमा गरिएको एकताले कतै आगामी दिनमा समस्या त खडा गर्ने होइन, माओवादीको पहिचान गुम्ने त होइन भन्दै उनीहरुले प्रश्न गरेका थिए ।
त्यसको जवाफमा अध्यक्ष दाहालले शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने लक्ष्यका साथ एकतामा सहमति भएकाले कुनै पनि दुविधा नराख्न आग्रह गरेकाछन् ।
यस्तै पार्टी एकता, आगामी निर्वाचनको तयारी तथा अन्य सांगठनिक विषयमा छलफल गर्न माओवादी केन्द्रले आजै पोलिटब्यूरोको बैठक बोलाएको छ ।
बैठकमा एमाले, नयाँ शक्तिसँग भएको पार्टी एकताको विषयमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिए । बैठक केही बेरपछि राष्ट्रिय सभागृहमा बस्दै छ । रासस

प्रतिक्रिया