nepali woman’s agony
विशाल चौतारी समाचार
चितवन, २०७४ भाद्र २५ आइतबार । भरतपुर अस्पतालमा प्रसूतिका लागि आउने बिरामीमध्ये झण्डै आधा भुइँमा नै सुतेर प्रसूति गराउन बाध्य छन् । अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेल अस्पतालमा प्रसूति गराउन आउने आधाआधि महिला भूइँमा सुतेर उपचार गर्न बाध्य भएको बताए । दैनिक सरदर ४० जना भूइँमा नै हुने गरेको बताए । भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै महिला छन् ।
फाइल फोटो
महानगरमा प्रमुख र उपप्रमुखको शपथपछिको ३२ आँैं दिनका दिन आज दोस्रो पटक भरतपुर अस्पताल पुग्नुभएका उहाँहरुले प्रसूति गृहको निरीक्षण गर्नुभएको थियो । प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह जब प्रसूति गृह पस्नुभयो, भुइँभरी प्रसव अवस्थाका बिरामी महिला देख्नुभयो । त्यसो त शपथका दिन पहिलो निर्णय नै उहाँहरुले महिला र वृद्धका लागि अस्पतालमा बहिरङ्ग टिकट निःशुल्क गराएका थिए ।
श्ययाको अभावमा कष्टकर अवस्था देखेपछि प्रमुख दाहालले आउँदा दिनमा सो अवस्था नरहने गरी काम गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । उनले भने “सक्दो सहयोग महानगरले गर्छ, आवश्यक पहल केन्द्रमा पनि गर्छु, तपाईँ झै अब महिलाले भुइँमा सुतेर उपचार गर्नुपर्दैन ।” अस्पतालका स्रोत साधनलाई अधिकतम उपयोग गरी बिरामीको उपचारमा लाग्न निर्देशन पनि दिएका छन् । उपप्रमुख ठकुरीले पनि महानगरभित्रै महिलाले कष्टपूर्ण ढंगले प्रसूति सेवा लिन नपर्ने गरी काम गर्नुपर्ने बताउका छन् ।
अस्पतालको प्रसूति गृहमा एक सय १० श्यया छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट रुद्र मरासिनीले वार्षिक रुपमा १४ हजारभन्दा बढी महिलाले अस्पतालबाट प्रसूति सेवा लिने गरेको बताए । राजधानीको प्रसूति गृहपछि नेपालमा सबैभन्दा बढी प्रसूति गराउने अस्पताल भरतपुर अस्पताल रहेको बताइएको छ । अस्पतालमा आठ प्रसूति रोग विशेषज्ञ छन् ।
अस्पतालको निरीक्षणका क्रममा मरासिनीले कम्तीमा ५० श्ययाको प्रसूतिरोग विभाग जरुरत रहेको बताए। त्यसैगरी जनशक्ति अभाव रहेको, आकस्मिक कक्ष साँघुरो भएको बताउँदै एमआरआई, क्याथल्याब र मानव अंग प्रत्यारोपणका लागि आवश्यक उपकरण व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
वर्षात्को समयमा पानी जमेर अस्पताल अस्तव्यस्त हुने हुँदा ढलका लागि पनि पहल गरिदिन उहाँले आग्रह गरे । भरतपुर अस्पतालमा चितवन र छिमेकी जिल्लाबाट वर्षमा दुई लाख भन्दा बढीले उपचार सेवा लिँदै आएका छन् । रासस
प्रतिक्रिया