Applicable business
विशाल चौतारी समाचार
हेटौडा, २०७४ भाद्र २० मंगलबार । लागूऔषध ओसार पसार गर्ने ६ जनालाई प्रहरीले मकवानपुरका विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरू मध्य एकजनालाई हेटौडा प्रहरीले बसपार्कबाट अदुवासँग मिसाएर ल्याएको गाँजा सहित भेटेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ना. ५. ख. ५५५४ नंम्बरको यात्रु बाहक बस रोकी चेक जाँच गर्दा डिक्कीमा अदुवाको २ वटा बोरा भित्र अवैध लागु औषध गाँजा ३१ किलो ८ सय ग्राम फेला पारेको जानकारी दिएका छन् ।
गाँजासँगै मकवानपुर राक्सीराङ गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष ३० को जय तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिकाशराज खनालले बताए । यसै गरी हेटौडा १४ स्थित चुरियामाई मन्दिर नजिक लागूऔषको कारोबार गरिरहेको अवस्थाबाट चार जनालाई पक्राउ गरिएको छ ।
पर्सा बिरगंज महानगरपालिका वडा नंम्बर २१ परवानीपुर बस्ने वर्ष ४० को ब्यास प्रसाद पटेल, सोही ठाउँमा बस्ने निजको श्रीमती वर्ष २५ को रगंमतीदेवी पटेल, बिरगन्ज वडा नम्बर ९ बस्ने वर्ष ३४ को राजकुमार कोइराला एवम् सोही वडाका वर्ष ३१ को सन्तोष लामालाई लागूऔषध रिक्पस सहित पक्राउ गरिएको जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले ४७ बोतल रिक्पस सहित कारोबार गरी रहेको अवस्थामा फेला परी पक्राउ गरेको हो ।
यसै गरी प्रहरीले अवैध सुन सहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला हेटौडा १५ स्थित रातोमाटे चेकपोष्टमा हेटौडाबाट बिरगंज तर्फ जादै गरेको ना. १ ज. ४०५२ नम्बरको सुमो चेक जाँच गर्ने क्रममा उक्त सुमोमा सुन बरामद गरेको हो ।
सुमोमा सवार भारतीय नागरिक वर्ष ४० को अशोक कुमार शर्माको साथबाट अवैध सुन १ सय ९५ ग्राम र अहिलेको बजार मूल्य ९ लाख ६० हजार रुपैयाँ बराबरको सुन फेला पारी आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया