Musical Association of Nepal to respect Journalist Sitaram Badal
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ भाद्र २७ सोमबार । नेपाल सांगीतिक संघको १६ औं बार्षिकोत्सवको अवसर पारेर कान्तिपुर टेलिभिजनका पत्रकार सिताराम बडाललाई सम्मान गरेको छ । विगत ७ वर्ष देखि टेलिभिजन पत्रकारिता गर्दै आएको बडाललाई नेपाली संगीत क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै, नेपाल सांगितिक संघ राष्ट्रिय संगीत पत्रकारीता पुरस्कार २०७३ प्रदान गरिएको हो ।
सोही समारोहमा विभिन्न संगीतकर्मीहरुलाई समेत सम्मान गरियो । वि.सं २०५७ सालमा स्थापित सांगितिक संघमा गायिका तारा थापापछि हाल मिलन मोक्तान अध्यक्षको रुपमा रहेका छन् ।
सोही समारोहमा यस वर्षको नेपाल सांगितिक संघ राष्ट्रिय विशिष्ट पुरस्कार गीतकार चेतन कार्की, शिवशंकर राष्ट्रिय विशिष्ट सांगितिक पुृरस्कार संगीतकार मदनदीप बम, पुष्प नेपाली राष्ट्रिय विशिष्ट सांगितिक पुरस्कार गायक दीप श्रेष्ठ तथा धर्मराज थापा राष्ट्रिय विशिष्ट सांगितिक पुरस्कार गायक तथा कलासाधक गणेश रसीकलाई प्रदान गरियो । त्यस्तै, फत्तेमान राष्ट्रिय सांगितिक युवा पुरस्कार गायिका निशा देशार तथा नेपाल सांगितिक संघ राष्ट्रिय युवा पुरस्कार गायिका सिने गुरुङलाई प्रदान गरियो ।
कार्यक्रममा वरिष्ठ गायक फत्तेमान राजभण्डारी, धर्मराज थापा, शिवशंकर लगायतको स्मृतिमा सांगितिक प्रस्तुति समेत गरिएको थियो ।
यी पुरस्कारहरुको छनौट समितीमा प्रा.डा. कृष्णहरी बराल, गीतकार रमण घिमिरे, नेपाल सांस्कृतिक संस्थानका राजेश थापा, सांगितिक संघका अध्यक्ष मिलन मोक्तान, उपाध्यक्ष खर्क बहादुर बुढा र संगीतकार सन्तोष श्रेष्ठ रहेका थिए ।
प्रतिक्रिया