bir bikram movie Mouth publicity comprehensive
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ भाद्र ५ आइतबार । गत बिहिबारबाट रिलिजमा आएको मल्टिस्टारर चलचित्र ‘वीर विक्रम’ले उत्साहजनक सुरुवात गर्दै करोड क्वलमा प्रवेश गरेको छ । सप्ताहन्त देशका सिंगल स्क्रिनमा आक्रामक व्यापार गरेको छ । निर्माण कम्पनी चाम्स इन्टरटेनमेन्टका अनुसार चलचित्रले तीन दिनमा १ करोड ४ लाख ९० हजार ग्रस कमाएको छ ।
दयाहाङ राई, अर्पण थापा, दीया पुन, नाजिर हुसेन, अनुपविक्रम शाही अभिनित सिनेमाले सिंगल स्क्रिनमा शतप्रतिशत अनुपेन्सी कायम राखेको छ । मोफसलका पोखरा र धरानका हलमा फिल्मले उच्च व्यापार गरेको जनाइएको छ । धरानमा तीन महिनापछि रात्री सोज प्रदर्शन गरियो । पोखरेली मल्टिप्लेक्समा शनिबार हाउसफूल भएको उल्लेख छ ।
चलचित्र ‘वीर विक्रम’ अत्याधिक सफल हुनुको धेरै कारण छन् । पहिलो कारण चलचित्र नै राम्रो रहेको कारण । दोस्रो माउथ पब्लिसिटीको कारण र तेस्रो विहिबार, शुक्रबार र शनिबार विदाको कारणपनि यो चलचित्र सफल भएको हो ।
यो चलचित्रलाई मल्टिप्लेक्स र सिंगल दुबै हलमा रुचाइएको पाइएको छ । काठमाण्डौको गोपीकृष्ण हलले दिएको जानकारी अनुसार शुक्रबार र शनिबार गोपीको ११ सय सिटमा चलचित्र हेर्ने दर्शकको भीड लागेको थियो ।
विशेषगरि, काठमाण्डौका अधिकांश हलमा चलचित्रले पाएका सबै शोमा दर्शकको चाप उच्च देखिएको छ । चलचित्रका मुख्य कलाकार दयाहाङ राई, अनुप विक्रम शाही र दीया पुन काठमाण्डौका हल(हलमा पुगेका थिए ।
चलचित्रको विषयवस्तुलाई यसको सशक्त हतियार मानिएको छ । सिंगल र मल्टिप्लेक्स दुबै हलमा चलचित्रको कथा दर्शकले मन पराएका छन् । ग्रामिण परिवेशको कथालाई आधुनिकिकरणमा ढालिएकाले पनि मिलन चाम्स यसपटक ‘हासिया’ भन्दा सफल देखिएका छन् ।
चलचित्रका वितरक गोविन्द शाही र गोपाल कायस्थले पनि व्यापारलाई लिएर सन्तुष्टी व्यक्त गरे । बिहिबार चलचित्रको ओपनिङ सामान्य भएपनि शुक्रबार र शनिबार आक्रामक देखिएको हल संचालकहरुको भनाई छ ।
प्रतिक्रिया