Bisal Chautari Logo

कसरी दर्शक तन्यो एटिएमले ? ( भिडियो सहित )

- १५ श्रावण २०७०, मंगलवार ०८:२९ मा प्रकाशित


काठमाडौं । गत शुक्रबारदेखि राजधानी र मोफसलका हलमा एकसाथ प्रदर्शनमा आएको निर्माता तथा अभिनेता दिनेश थापा निर्मित चलचित्र ‘एटिएम’ ले राम्रै दर्शक पाइरहेको छ । दृश्य र संवाद अश्लील भएको भन्दै विवादमा आएको ‘एटिएम’ चर्चा पाएकै कारण हलमा दर्शकको ओइरो लागेको निर्माणपक्षको दाबी छ ।

चलचित्र ‘एटिएम’ को निर्देशन यादव सिलवालले गरेका हुन् । यो चलचित्रले सेन्सर बोर्डबाट ‘एडल्ट सर्टिफिकेट’ पाई ८ मंसिरमै प्रदर्शनमा आउने भनिएको थियो । तर, त्यतिबेला केही हलमा एक सो र केही दुई सोमै सेन्सरले काटेका केही दृश्य र संवादसहित प्रदर्शन गरेको भन्दै सञ्चार मन्त्रालयले प्रदर्शन रोकेको थियो । हुन त त्यो समयमा पनि ‘एटिएम’ हेर्नेको भिड थियो ।

असार तेस्रो साता पुनरावेदन अदालत, पाटनले  ‘एटिएम’ का पक्षमा अन्तरिम आदेश जारी गरेपछि शुक्रबारदेखि चलचित्र पुनः प्रदर्शनमा आएको हो । ‘चलचित्र दर्शकले निकै मन पराएका छन्,’ निर्माता थापाले भने, ‘शुक्रबार र शनिबार राजधानीका अधिकांश हल हाउसफुल भए, मोफसलका पनि धेरै हल दर्शकले भरिएका छन् ।’

आफूले मनोरञ्जक चलचित्र निर्माण गरेकाले दर्शकले साथ दिएको उनको भनाइ छ । ‘पहिला–पहिला नेपाली फिल्म हेर्न दर्शक जसरी आउँथे, एटिएममा पनि त्यस्तै भएको छ,’ हिरारत्न र विश्वज्योति हलको व्यवस्थापन सम्हालेका मनोज केसीले भने, ‘हल्लाखल्ला गर्नु गर्‍यो  र
मनोरञ्जक फिल्म बनायो भने हलमा दर्शक आउँदा रहेछन् भन्ने कुरा एटिएमले पुष्टि गरेको छ ।’  ‘एटिएम’ मा दिनेश थापाका आलावा सोनिया शर्मा, सबिना कार्की र जिया केसीको प्रमुख भूमिका छ ।

प्रतिक्रिया