Bisal Chautari Logo

उदयपुर सिमेन्ट उद्योग बन्द

- ४ जेष्ठ २०७१, आईतवार ०६:४९ मा प्रकाशित


udayapur-cement-industries-limited-nepal
विशाल चौतारी समाचार
उदयपुर, २०७१, जेठ ४ आइतवार । देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगको रूपमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योग चार दिनदेखि बन्द भएको छ ।
उद्योगको प्रदूषण नियन्त्रण गर्ने मेसिनमा गडबडी भएपछि केही दिनका लागि मेसिन मर्मत गर्न उद्योग बन्द गर्नुपरेको उदयपुर सिमेन्ट उद्योगका सहायक महाप्रबन्धक नवलकिशोर साहले बताए । उद्योगको मेसिन मर्मत गर्न अझै हप्ता दिन लाग्न सक्ने उनको भनाइ छ ।उद्योगको प्रदूषण नियन्त्रण गर्ने मेसिनले काम नगर्दा उद्योगभित्र र उद्योग आसपासको क्षेत्रसम्म व्यापक सिमेन्टको प्रदूषण फैलिन थालेपछि प्रदूषण नियन्त्रण गर्न बाध्य भएर उद्योग बन्द गर्नुपरेको उद्योगका कर्मचारीहरू बताउँछन् ।
उद्योग बन्द भएको मौका छोपेर सिमेन्ट बिक्रेता डिलरहरूले गैँडाछाप सिमेन्टको अभाव भएको भन्दै स्थानीयस्तरमा साढे छ सय प्रतिबोरासम्म मूल्य पर्ने गैँडाछाप सिमेन्टको मूल्य बढाएर प्रतिबोरा नौ सयसम्ममा बिक्री गर्न गर्ने गरेको स्थानीय उपभोक्ता महेश दाहालले बताए ।
उद्योगका सहायक महाप्रबन्धक साहले भने उद्योग बन्द भए पनि स्थानीय क्षेत्रमा सिमेन्ट अभाव हुन नदिन उद्योगको स्टक सिमेन्ट स्थानीय डिलरलाई वितरण गर्ने गरेको दाबी गरे ।
प्रतिदिन ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको उदयपुर सिमेन्ट उद्योगले अहिले ५०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगका कर्मचारीले बताएका छन् ।
चार दिनदेखि उद्योग बन्द गर्नु परेपछि अहिलेसम्म उद्योगलाई पचासौँ लाख घाटा भएको उद्योगका कर्मचारी बताउँछन् ।

प्रतिक्रिया