Bisal Chautari Logo

सन्तानको बाटो हेर्दै थाकेकी आमाको कथा, दशैँमा रिलिज हुने ‘आ बाट आमा २’ को पहिलो झलक

- २९ भाद्र २०८३, सोमबार २२:३३ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ भाद्र २९ सोमवार ।
“चर्किएको यो घरले फेरि सोध्यो…’यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा??”स्लोगन सहित फिल्म ‘आ बाट आमा २’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। हरितालिका तीजको अवसर पारेर निर्माण टिमले सोमबार फिल्मको पहिलो झलक सार्वजनिक गरेको हो।
सार्वजनिक फस्टलुक पोस्टरमा चाडपर्वका बेला नेपाली समाजले भोगिरहेको पारिवारिक विछोड,आमाको पर्खाइ र भत्किँदै गएको सामाजिक परिवेशलाई कलात्मक ढङ्गले समेटिएको छ। पोस्टरको पृष्ठभूमिमा रहेका फुटेका सिसा र पुराना तस्बिरहरूले भत्किएको परिवार र छिन्नभिन्न भएका यादहरूलाई सङ्केत गर्छन्। एक तस्विरमा आमा बुबा प्रदीप रावत र विपना थापा अँगालो हालेर रोइरहेको दृश्यमाथी उडिरहेको हवाइजहाजको तस्बिरले रोजगारीका लागि घर छाड्न बाध्य नेपाली युवाहरूको कथा बोल्छ। अर्को टुक्रामा फिल्मका मुख्य कलाकार पल शाह,साइग्रेस पोखरेलको तस्बिरले विगतका मीठा सम्झनाहरू दिलाउँछन्।
पोस्टरको एउटा फोटोमा पल र साइग्रेसलाई खुशी मुन्द्रामा देखिन्छन् भने सोही पोस्टरको मुनी रहेको अर्को पोस्टरमा निधारमा रातो टीका र जमरा लगाएर बसेका दुई युवाहरू (पल शाह र साइग्रेस)लाई आमाले अँगालो हालेर रोइरहेकी छन्। उनको निधारमा टीका र जमरा छैन। अनुहारमा उत्सवको उत्साह होइन, बरु थकाइ र विवशता झल्किन्छ। पोस्टरको एक कुनामा लिङ्गे पिङ र रौनकतामा रमाइरहेका गाउँलेहरूसँग पल शाहको परिवार देखिन्छन्।

उनीहरु दशैँको माहोलमा जमरा र टीका लगाएर पिङ खेलिरहेका छन्। जहाँ आमा विपना थापा पिङ खेलिरहेकी छन् भने उनलाई पल शाहले हल्लाई रहेका छन्। साथै पछाडी मधुर मुस्कानमा उनका श्रीमान प्रदीप रावत देखिन्छिन् भने पिङमा समातेर आकाश श्रेष्ठ,साइग्रेस,गजित बिष्ट नीकिता आचार्य मुस्कान सहित हाँसिरहेका छन्। बीचको एक पोस्टरमा भने चाडपर्वको समयमा विपना थापा र साइग्रेस खुशी मुन्द्रामा देखिदा प्रदीप र पल अलिक भावुक देखिन्छन्।  साइडको एउटा पोस्टरमा भने पल आमा बुबासँग रमाइरहेको ब्लाक एण्ड ह्वाइट फोटोसँगै रिस्ता गुरुङको कलरफुल फोटो राखिएको छ।
माथीको साइडमा पोस्टरमा समेटिएको वाक्य निकै घत र भावुक बनाउने छ। जहाँ लेखिएको छ,“चर्किएको यो घरले फेरि सोध्यो… ’यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा??”यो स्लोगनले ले नै फिल्मको मूल मर्मलाई स्पष्ट पार्छ। घरका भित्ता र सिसा मात्र होइन, सन्तानको बाटो हेर्दाहेर्दै आमाको मन पनि चर्किएको छ। चाडबाडमा रित्तिँदै गएका नेपाली गाउँघर, परदेशिएका सन्तान र उनीहरूकै पर्खाइमा जीवन बिताइरहेका आमाहरूको कारूणिक कथालाई यस फिल्मले पर्दामा ल्याउन खोजेको छ।
फिल्ममा पल शाह,मलिका महत,रिश्ता गुरुङ,निकिता आचार्य,विपना थापा,आकाश श्रेष्ठ,सबिन श्रेष्ठ,प्रदीप रावत,साइग्रेस पोखरेल,गजित विष्ट,नरेन खड्का,दिलिप अखेडा,लगायतको मुख्य भूमिका रहनेछ। यस फिल्मको सम्पादन साहिल खान र मिलन श्रेष्ठ हुन्। फिल्मको  प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।

अघिल्लो वर्षको सुपरहिट फिल्म ‘आ बाट आमा’को यो सिक्वेल दमदार रुपमा हलमा आउन लागेको हो। आगामी असोज ३० गते फूलपातीको अघिल्लो दिनबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् भने कथा तथा पटकथा पनि उनकै रहेको छ। आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्मलाई आर आर फिल्मले नेपालभर वितरणको जिम्मा लिएको छ। साथै डिजिटल अधिकार ओएसआरको छ।

प्रतिक्रिया