
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ श्रावण १५ शुक्रवार। पर्दामा पात्रको जीवन जिउनु र त्यसलाई जीवन्त बनाउनु एक कुशल कलाकारको पहिचान हो। यही पहिचानलाई फेरि एकपटक मजबुत बनाउँदै अभिनेत्री नीता ढुङ्गाना यतिबेला दर्शकमाझ छाएकी छन्। हालै सार्वजनिक फिल्म ‘पार्वती’ को टिजरपछि उनको अभिनयको चौतर्फी चर्चा र प्रशंसा भइरहेको छ।
टिजरमा नीतालाई अटिजम भएकी युवतीको भूमिकामा देख्न सकिन्छ। एक अटिजम पीडितको भावभंगी, हाउभाउ र भाइप्रतिको निश्छल मायालाई उनले जसरी पर्दामा उतारेकी छन्, त्यसले दर्शकको मन छोएको छ। अटिजम जस्तो संवेदनशील र जटिल पात्रमा आफूलाई ढाल्नु कुनै पनि कलाकारका लागि ठूलो चुनौती हो। तर, नीताले यो कठिन भूमिकालाई यति सहज र स्वाभाविक रूपमा निभाएकी छन् कि सामाजिक सञ्जालमा उनलाई ‘पार्वती’ पात्रलाई पूर्ण न्याय गरेको भन्दै तारिफको ओइरो लागेको छ।
नीतालाई ‘भर्सटायल’ अभिनेत्री त्यसै भनिएको होइन। उनी कथा र पात्र अनुसार आफूलाई पूर्ण रूपमा रूपान्तरण गर्न माहिर मानिन्छिन्। ‘किसान’, ‘मसान’, ‘नोटबुक’, ‘छ एकान छ’ लगायत दर्जनौँ हिट फिल्ममार्फत दर्शकको मन जितिसकेकी नीताले सात वर्षअघिको फिल्म ‘पञ्चायत’ मा वि.सं. २०३३ सालको एक अबोध किशोरीको भूमिकामा उत्कृष्ट अभिनय गरेकी थिइन्। उक्त भुमिकाबाट चौतर्फी प्रशंसा पाएकी नीतालाई अझ दर्शकले चिन्ने मौका पाएका थिए। समिक्षात्मक रुपमा समेत उनको तारिफ भएको थियो। संयोग नै मान्नुपर्छ, नीताको अभिनयको चौतर्फी प्रशंसा भएको फिल्म ‘पञ्चायत’ र अहिलेको ‘पार्वती’ दुवैका लेखक शिवम् अधिकारी हुन्।
फिल्म ‘पार्वती’ केवल एउटा सिनेमा मात्र नभई आफ्नै समाजको वास्तविक चित्र भएको नीता बताउँछिन्। आफैँले समाजमा देखेका र भोगेका पात्रहरूको कथालाई पर्दामार्फत प्रस्तुत गर्न पाउँदा उनी निकै उत्साहित छिन्। “आफ्नै समाजको कथा, धेरै पार्वतीहरूको व्यथा र मौन पीडामा बाँचिरहेका अनगिन्ती पार्वतीहरूको आवाज बनेर आउँदैछ ‘पार्वती’,” नीता भन्छिन्।
पछिल्लो समय फिल्म निर्माणमा समेत होमिएकी नीता अघिल्लो वर्ष ‘ह्रस्वदीर्घ’मार्फत सफल निर्माताका रूपमा उदाएकी थिइन्। तर ‘पार्वती’ मार्फत उनी निर्माणका साथै पहिलोपटक निर्देशनमा पनि हात हाल्दैछिन्। ‘मसान’को भुमिका र ‘पञ्चायत’ को अबोध किशोरी हुँदै ‘पार्वती’ को अटिजम पीडित पात्रसम्म आइपुग्दा नीताले आफूलाई हरेक साँचोमा ढाल्न सक्ने बहुमुखी प्रतिभाका रूपमा पुनः प्रमाणित गरेकी छन्।
दर्शकले नीतालाई अभिनयमा मात्र नभई निर्देशकका रूपमा पनि उत्तिकै स्वीकार गर्नेमा दुईमत छैन। आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको ‘पार्वती’ मार्फत निर्देशकका रूपमा नीताको नयाँ परीक्षा सुरु हुँदैछ।
प्रतिक्रिया