बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ भाद्र ३१ मंगलवार। पछिल्लो साता जेनजीको प्रदर्शनले उथुलपुथुल भएको नेपाली चलचित्र क्षेत्र फेरी चलायमान हुन थालेको छ । भदौ २४ गतेदेखी बन्द भएका देशभरका फिल्महलहरु पुनः सन्चालनमा आएका छन् । साथै रोकिएका फिल्महरु पुनः प्रदर्शन हुन सुरु भएका छन् । हलवाला र वितरकहरूको छाता संस्था नेपाल चलचित्र संघको आइतबार बसेको बैठकले आवश्यक सुरक्षा सतर्कता अपनाएर हल खोल्ने निर्णय गरेपछि सोमबारदेखि हलहरू सुचारु भएका हुन् ।
अहिले हलमा केहि नेपाली फिल्मसँगै केहि बिदेशी फिल्म छन् । नेपाली फिल्म रिमैमा दर्शकको राम्रो उपस्थिती हुँदैगर्दा बिषमपरिस्थितीका कारण हलहरु बन्दहुन पुगे । अहिले पुनः रिमै प्रदर्शनमा आएको छ । दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, माउत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको रिमै भदौ २० बाट रिलिजमा आएको थियो । रिलिजसँगै रिमैलाई दर्शकको राम्रै साथ मिलिरहेको थियो । अब पनि दर्शकको उत्तिकै साथ मिल्नेमा निर्माण टिम आशावादी छ । रिमैसँगै नेपाली फिल्म ‘कोशेढुंगा’, ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’, ‘मोहर’, ‘गुन्यो चोलो’ प्रदर्शनमा छन् ।
यस्तै बिदेशी फिल्महरु ‘बागी ४’, ‘परम सुन्दरी’ र ‘द कोन्जूरिङ ःलास्ट राइट्स’को प्रदर्शनलाई निरन्तरता दिइएको छ । असोज ३ गते प्रदर्शन हुने भनिएको ‘जारी २’ फिल्म पनि सरेको छ । अब यो फिल्म कार्तिकको दोस्रो साता तिर पुग्ने बुझिएको छ । अब नयाँ फिल्म दशैंको समयमा मात्र रिलिज हुनेछन् । नेपालमा १६५ वटा हल रहेकोमा सोमबारबाट विराटनगरको क्यूएफएक्स हलबाहेक अरू सञ्चालनमा आएको संघले जनाएको छ । विराटनगरको क्यूएफएक्स हल आन्दोलनको क्रममा जलेर पूर्ण रूपमा ध्वस्त भएको छ, जुन १५ करोडको लागतमा बनेको थियो । योसहित अन्य चारवटा हलमा पनि आगजनी र तोडफोड हुँदा १७ करोडको क्षति भएको जनाइएको छ ।
प्रतिक्रिया