बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ भाद्र ३ मंगलवार। आगामी शुक्रबार अर्थात् भदौ ६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘माग्ने राजा’को निर्माण टिम यतिवेला व्यापक प्रचारमा जुटेको छ । सिनेमाको रिलिज मिति नजिकिएसँगै निर्माण टिम काठमाडौं उपत्यकाका विभिन्न कजेजदेखि कार्यक्रमसम्म पुगेर धेरैभन्दा धेरै दर्शकसम्म पुग्न प्रयासरत छ ।
यसैका लागि आज मंगलबार सिनेमाको निर्माण टिम काठमाडौं चुच्चेपाटीस्थित मनासलु स्कुल तथा कलेज पुगेर सिनेमाको प्रचार गरेको हो । जहाँ सिनेमाका मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढ) र निर्देशक ऋषि लामिछाने पुगेका थिए । उनीहरु दुवै जनाले स्कुल तथा कलेजका विद्यार्थीलाई सिनेमा हेर्न अनुरोध समेत गरेका छन् । त्यससँगै अभिनेता माग्ने बुढाले सिनेमाको गीत ‘म त सुतेर उठेको पैसामा’ गीतमा विद्यार्थीसँग नृत्य समेत गरेका हुन् ।
यो सिनेमाको केही दिन अघि नै सेन्सर भैसकेको छ । सेन्सर बोर्डले सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको हो । यो सिनेमा हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न सक्ने भएका हुन् ।
सेन्सर भएको केही दिन भएपनि आज मंगलबारबाट यो सिनेमाको अग्रीम टिकट बुकिङ समेत खुल्ला गरिएको छ । सुरुवाती चरणमा सिनेमाले उत्साहजनक शो पाएको छ । सवै हलले शो नखोली सकेकाले भोली बुधबार साँझसम्म देशभरका अधिकांश म्लटीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले अग्रीम टिकट बुकिङ खुल्ला गरिसक्ने अपेक्षा निर्माण टिमको छ ।
दर्शकमाझ यो सिनेमाको चर्चा व्यापक छ । सिनेमाले हाइप अनुसार सुखद् ओपनिङ गर्ने विश्वास गरिएको छ । ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमालाई मुनाल घिमिरेले निर्माण गरेका हुन् । सिनेमामा केदार प्रसाद घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई नरेन्द्र मैनालीले खिचेका हुन् । सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।
प्रतिक्रिया