Bisal Chautari Logo

‘कोशेढुंगा’ चलचित्रको ट्रेलर सार्वजनिक

- ३ भाद्र २०८२, मंगलवार १९:५७ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ भाद्र ३ मंगलवार।
 चलचित्र ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा प्रेम, प्रेम पाउनका लागि गरेको संघर्ष, वियोग, हृदयविदारक खबर, समाजको अवरोध र जिन्दगीदेखि हरेस खाएर लिइने निर्णय छ । गाउँले परिवेश देखिएको ट्रेलरमा परम्परागत सामाजिक सोच र त्यसले जिन्दगीलाई पार्ने प्रभाव देखिन्छ ।

आफ्नो प्रेम पाउन र बचाउन गरेको संघर्षलाई देखाइए पनि ट्रेलरमा थ्रिल र सस्पेन्स छ । जसले चलचित्रको कथा के हो भन्ने खुलाएको छैन । पैसाको बलमा सम्बन्ध जोड्ने रवाफ र चोखो प्रेमका लागि गरिएको संघर्षसहितको द्वन्द्व ट्रेलरमा समेटिएको छ । सरोज पौडेलको निर्देशन रहेको चलचित्र ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज हुँदै छ । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको निर्देशन रहेको यो चलचित्र ‘कोशेढुंगा’को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ । चलचित्रको निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ ।

चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् । नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुँदैछ । ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ । पहिलो पटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।

प्रतिक्रिया