Bisal Chautari Logo

पोखरामा राजेश हमालः कोटी होमदेखि हलसम्म पुगे, दर्शकसँगै नाँचे

- २२ जेष्ठ २०८२, बुधबार २३:५९ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ जेष्ठ २१ बुधवार।
‘महानायक’ राजेश हमालले फिल्म ‘नरसिंहाः अवतार’को प्रचारलाई अझै आक्रामक रुपमा अगाडि बढाइरहेका छन् । फिल्म रिलिजको दोस्रो सातासम्म आइपुग्दा पनि हमालको देश दौडाहा रोकिएको छैन ।
उनै, हमाल मंगलबार पोखरा पुगे । फिल्मको सिंगो टिमसहित पोखरा पुगेका हमाल दिनभर व्यस्त रहे ।
पोखरामा जारी कोटी होममा नायक हमालले १ घन्टा समय बिताए । कोटीहोममा पुगेर उनले जीवन र दर्शनको कुरा गरे । धर्म र मनोरञ्जनको कुरा गरे । हमालको कुराले पोखरेलीवासीहरु प्रभावित बनेका थिए ।
कोटी होममा १ घन्टा जस्तो समय बिताएका राजेश हमाल पोखराका मिडटाउन र क्यूएफएक्स हलमा दर्शकसँग साक्षात्कार गर्न पुगेका थिए ।
हलमा पुगेका हमालले दर्शकसँग तस्वीर खिचाए, नृत्य गरे र खुशी साटे । फिल्मको बारेमा हमालले दर्शकसँग प्रतिक्रिया पनि लिए ।
पोखरामा हमालको क्रेज गज्जब देखियो । हमाललाई फिल्मको टिमले बाजागाजा बजाएरै स्वागत गरेको थियो । हल–हलमा बाजा बजाउँदै हमाललाई प्रवेश गराइएको थियो ।
पोखरेली दर्शकहरु राजेश हमालको उपस्थितीले दंग देखिए । हमालको साथमा फिल्मका मुख्य नायक राज कटुवाल, नायिका सनिषा भट्टराई, निर्माता ध्रुव न्यौपाने, बाल कलाकार एभिलिना खड्का, कलाकार रमेश चन्द सोडारी, वितरक छविराज ओझा लगायत पोखरा पुगेका थिए ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म जेठको ९ गतेबाट रिलिजमा आएको हो । फिल्ममा ध्रुव न्यौपाने, नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकालको लगानी छ । 

प्रतिक्रिया