बिशाल चौतारी समाचार
काठमाडौं,२०८२ जेष्ठ ११ आइतवार। यही जेठ १५ गते बिहीबार रिलिज हुने नेपाली चलचित्र ‘महाभोज’ले नयाँ प्रचार शैली अपनाउँदै प्रचारमा विविधता ल्याएको छ । रिलिजको केही दिन मात्र बाँकी रहँदा चलचित्र यति बेला सडक नाटकमार्फत दर्शकमाझ आइपुगेको छ ।
शनिवार साँझ काठमाडौंको गोङ्गबुमा ‘सत्य कहिल्यै लुक्दैन – महाभोज’ शीर्षकको सडक नाटक प्रस्तुत गरी सयौँ दर्शकलाई चलचित्रको कथावस्तुबारे जानकारी गराइएको छ । चलचित्रका निर्माता अनुसार यो अभियान चलचित्र रिलिजसम्म काठमाडौंका विभिन्न स्थानहरूमा दैनिक रूपमा सञ्चालन हुनेछ ।
सडक नाटकमा कलाकारहरूले प्रत्यक्ष अभिनयमार्फत सहकारी पीडित र पीडकबिचको कथालाई प्रस्तुत गरेका छन् । चलचित्रको मूल कथावस्तुसँग मेल खाने गरी तयार गरिएको यो नाटकको निर्देशन आकाश नेपालीले गरेका हुन् भने लेखक सरिता कठायत हुन् । कलाकारहरूमा सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, सरिता कठायत र विनोद प्रकाश धामी छन् । नाटक व्यवस्थापन ट्राईडेन्ट कन्सेप्ट र द क्रियटर्स नेपालले गरेको थियो भने नाटक प्रस्तुति शुभआकाश टिमले गरेको हो ।
दिनेश राउत निर्देशित ‘महाभोज’ सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने पीडादायी अवस्थालाई चित्रण गर्ने चलचित्र हो । यसमा पीडितको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेललाई समेटिएको छ ।
दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख भूमिका रहेको यो चलचित्र क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो । निर्माता हिमाल कडरिया र लेखक विकास सुवेदी रहेको ‘महाभोज’ नेपालसँगै विदेशका केही मुलुकहरूमा एकसाथ रिलिज हुँदैछ ।
प्रतिक्रिया