बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ जेष्ठ १ बिहिवार। ‘के घर के डेरा : घर नं २’को अग्रिम बुकिङ खुला भएको छ । जेठ २ गते रिलिज हुने चलचित्रको मंगलबार साँझदेखि अग्रिम बुकिङ खुला भएको हो ।
चलचित्रले उच्च शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा २५ शो पाएको छ । काठमाडौं उपत्यका बाहिर २२ शो पाएको छ । क्यूएफएक्सका आउटलेटमा ४७ शो पाएको छ ।
आइएनआईले आफ्ना चारवटा आउटलेटमा १५ शो दिएको छ । वान सिनेमाजले कालीमाटीको आउटलेटमा चार शो दिएको छ । एफक्यूबले चार शो उपलब्ध गराएको छ ।
यस्तै हाराहारीमा अन्य मल्टिप्लेक्सले ‘के घर के डेरा : घर नं २’लाई शो उपलब्ध गराएका छन् । चलचित्र वितरक करण श्रेष्ठका अनुसार केही हलहरूले शो खोल्ने बाँकी रहेको जानकारी दिए । उनका अनुसार आज र भोलि बिहान सम्ममा देशभरका हलहरूको शो यकिन तथ्यांक आउने बताए ।
दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदै छ । राम्रो हाइप बनाएको सिनेमाले आक्रामक ब्यापार गर्ने निर्माणपक्षको विश्वास छ ।
चलचित्रमा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।
चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।
चलचित्र ‘के घर के डेरा : घर नं २’ले घर र डेराको कथा भन्छ । घर नहुनेहरूले घर बनाउन देख्ने सपना र घर हुनेहरूको दुःख यो सिनेमाले भन्दैछ । यही कथाको वरिपरि चलचित्र रहेको ट्रेलरले बताइसकेको छ ।
काठमाडौंको खाल्डोमा पसिसकेपछि कुनै मध्यम बर्गिय परिवारको त्यस्तो व्यक्ति कोही छैन होला जसले यहाँ आफ्नै घर बनाउने सपना नदेखेको होस् । घर र डेराबीचको अन्तरले पटकपटक जिन्दगीलाई हिर्काएको पीडाबाट छुटकारा पाउन हरेक व्यक्ति काठमाडौंमा आफ्नै घर होस् भन्ने सपना पाल्छ । र त्यही सपना पूरा गर्न अथक मेहनत गर्छ । जागिर, व्यापार सबै गर्छ । पैसाकै पछाडि दौडिदा धाकधम्की, दुई नम्बरी अनेक गर्ने मान्छेसँग भेट हुन्छ । सुरुमा प्रलोभन पछि धम्की र परिवन्ध । यसकै चक्करमा जिन्दगी फसेपछि कसरी बन्छ नयाँ घर, कसरी रहन्छ बनाएको घर ? यही कथाको वरिपरि चलचित्र रहेको अनुमान लगाउन सकिन्छ ।
प्रतिक्रिया