Bisal Chautari Logo

‘झिल्को’: हरेक अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालयका प्रिन्सिपलले हेर्नुपर्ने चलचित्र

- २२ बैशाख २०८२, सोमबार २२:४५ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,  २०८२ बैशाख २२ सोमवार ।
शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘झिल्को’ ले दर्शक, अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको मन छोएको छ । डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित चलचित्र ‘झिल्को’ले आजको समयका यथार्थ र संवेदनशील विषयवस्तु उजागर गरेको छ ।

चलचित्रको विषयवस्तु विशेष गरी अभिभावकीय बेवास्ता, स्मार्टफोनको दुरुपयोग, र डिजिटल प्रविधिका कारण निम्तिने पारिवारिक विखण्डनसँग जोडिएको छ । चलचित्रमा एक बालिकाको मुख्य भूमिकामा आयुषी ढकालले अभिनय गरेकी छन् भने उनीसँगै सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय रहेको छ ।

‘झिल्को’ हेरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याबसन) का केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले यो चलचित्रले सम्पूर्ण समाजको पीडा बोकेको प्रतिक्रिया दिए । उनका अनुसार, “एउटा परिवारभित्र एक सदस्यको कमी बुझाइ र अर्काको बहकाउमा लाग्दा कस्तो प्रकारको विघटन हुन्छ भन्ने कुरा चलचित्रले प्रभावकारी ढङ्गले देखाएको छ ।” उनले थप भने, “अभिभावक र शिक्षक गम्भीर बन्न नसकेको अवस्था र त्यसले विद्यार्थीमा पार्ने असर, सीप र संस्कारसँग शिक्षालाई जोड्नु पर्ने आवश्यकता चलचित्रले स्पष्ट रूपमा प्रस्तुत गर्छ ।”

त्यसै गरी, प्याबसनका केन्द्रीय महासचिव आर.बि. कटुवालले चलचित्र ‘झिल्को’लाई घर–घरको कथा बताउने चलचित्रको रूपमा व्याख्या गरे । “बच्चाहरूको पहिलो पाठशाला विद्यालय होइन, घर हो । र, अभिभावक नै उनीहरूको पहिलो गुरु हुन् भन्ने गम्भीर सन्देश चलचित्रले दिएको छ,” उनले भने । हरेक अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालयका प्रिन्सिपलले हेर्नुपर्ने चलचित्र रहेको बताउँदै उनले अभिभावक, शिक्षक, समाज र स्वयं बच्चाबीचको समन्वय नहुँदासम्म कुनै पनि बालकको समुचित विकास सम्भव नहुने कुरा ‘झिल्को’ले उठाएको बताए ।

पूर्व मुख्यसचिव भीम उपाध्यायले चलचित्रले डिजिटल प्रविधिको प्रभावमाथि गहिरो प्रश्न उठाएको टिप्पणी गरे । “प्रविधिलाई दोष मात्र दिँदा समस्या समाधान हुँदैन, यसलाई स्विकार्दै समाधान खोज्नुपर्ने अवस्था आएको छ,” उपाध्यायले बताए । उनको भनाइमा, ‘झिल्को’ ले बहु आयामिक समस्याहरू देखाउँदै त्यसको समाधान पनि बहु आयामिक दृष्टिकोणबाट खोजिनुपर्ने सन्देश दिएको छ ।

समग्रमा, ‘झिल्को’ले शैक्षिक क्षेत्र, अभिभावकत्व, र प्रविधिको प्रयोगबिचको जटिल सम्बन्धमाथि गहिरो बहस गराएको छ । यसलाई केवल विद्यार्थीले मात्र होइन, हरेक अभिभावक, शिक्षक, विद्यालयका प्रमुखहरूले समेत हेर्नुपर्ने चलचित्रका रूपमा विश्लेषण गरिएको छ ।

‘झोला’ निर्देशन गरेर ख्याति कमाएका यादवकुमार भट्टराईद्वारा निर्देशित यस चलचित्रलाई मिडिया फर कल्चर प्रा.लि.ले निर्माण गरेको हो । चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड तथा कलर श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । चलचित्रको पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतको सहकार्यमा तयार भएको हो ।

चलचित्रका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । चलचित्र जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।

प्रतिक्रिया